तुलसीपुर, ९ भदौ । आन्तरिक राजस्व कार्यलय तुलसीपुरले चालू आर्थिक वर्षको एक महिनामा/२३ करोड बढी राजश्व संकलन गरेको छ । आन्तरिक राजस्व कार्यलय तुलसीपुरका सूचना अधिकारी प्रेम बहादुर सुनारका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो साउन महिनामा २३ करोड ६४ लाख २३ हजार राजश्व संकलन गरेको हो ।
पहिलो साउन महिनामा रु ४१ करोड ६४ लाख ७६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ करोड ६४ लाख २३ हजार राजश्व संकलन गरेको सूचना अधिकारी सुनारले बताउँनुभयो । राजश्व कार्यालयले एक महिनामा लक्ष्यको ५६ दशमलव ७७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।
सूचना अधिकारी सुनारका अनुसार कार्यालयले साउन महिनामा आयकर तर्फ १७ करोड २६ लाख लक्ष्यमा ९ करोड २८ लाख राजश्व संकलन गरेको छ । त्यसैगरी मुल्य अभिवृद्धि कर तर्फ २० करोड ४२ लाख लक्ष्य लिएकोमा ८ करोड ८ लाख र अन्तशुल्क तर्फ १ करोड ९१ लाख लक्ष्य राखेकोमा ५ करोड १२ लाख राजश्व संकलन गर्न सफल भएको सुनारले तेस्रो आँखालाई जानकारी दिनुभयो । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब २२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यसैबीच कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७६ प्रतिशत राजस्व संकलन गरेको थियो । गत वर्ष कार्यालयले ३ अर्ब २ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये २ अर्ब ३९ करोड राजस्व संकलन गरेको सुनारले बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा साविक राप्ती अञ्चलका दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र प्यूठानबाट राजश्व उठ्ने गरेको छ । ।
