काठमाडौं, १० फागुन । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणदरमा निरन्तर कमी आइरहेको छ । कोरोना संक्रमणदरमा कमी आएको भए पनि महामारी सकिएको र जोखिम कम भएको भनेर भन्न हतार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको भनाइ छ ।
तेस्राे लहरमा अर्थात ओमिक्रोन भेरिएन्ट फैलिरहेको समयमा नेपालमा एकै दिन माघ छ गते १२ हजार तीन सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । याे संख्या तेस्राे लहरमा एकै दिन संक्रमण भएको सबैभन्दा बढी संख्या हो । माघ छ गते देखिएकाे १२ हजार तीन सय ३८ जनामा भएको कोरोना संक्रमणदर निरन्तर घटेर हिजो आइतबार तीन सयको हाराहारीमा झरेको छ ।
फागुन आठ गते आइतबार नेपालमा दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, हिजो सोमबार २४ घण्टामा तीन सय ८८ जनामा कोरोना पुष्टि भएको थियो । यसरी निरन्तर रुपमा ओरालो लागेको कोरोना संक्रमणदरले कोरोना महामारी सकिएको हो त ? भन्ने प्रश्न खडा हुन्छ । संक्रमणादर घट्दै गएपछि काेराेना नियन्त्रण भएकाे हाे की भन्ने आम चासोको विषय बनेको छ । तर मन्त्रालय भने कोरोना संक्रमणदरमा कमी आए पनि महामारी सकिएको भन्न हतार गर्न नहुने बताउँछ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीकाअनुसार नयाँ भेरिएन्ट पनि आउने सम्भावना भएको कारणले अहिल्यै कोरोना महामारी सकिएको हो भनेर भन्न मिल्दैन । उनी भन्छन् ‘पछिल्लो समयमा निरन्तर रुपमा कोरोना संक्रमणदरमा कमि आएको छ । तर यसलाई लिएर कोरोना महामारी सकिएको भन्न हतार हुन्छ । नयाँ भेरियन्ट आउने पनि सम्भावना रहेको हुनाले कोरोनाको महामारी र जोखिम कम भएको भनेर भन्न मिल्दैन ।’
लामो समयदेखिको कोरोना महामारीले विश्वमा सामाजिक, आर्थिक, शैक्षिकलगायत समग्र क्षेत्रमा नकरात्मक असर गर्याे । यसबाट नेपाल पनि अछुताे रहेन । नेपालका विभिन्न क्षेत्रमा महामारीले धेरै असर गर्यो । कतिपयले राेजगारी गुमाए, कति व्यवसाय र उद्योगहरु उठ्न नसक्ने गरि थला परे । पछिल्लो समयमा कोरोना संक्रमणदरमा कमी आउँदै गर्दा आम नागरिकको जनजीवन सहज बन्दै गएको देखिन्छ । तर पूर्ण रुपमा सहज बन्न अझै केही समय लाग्ने स्वास्थ्य मन्त्रालय बताउँछ ।
‘कोरोना संक्रमणदरमा निरन्तर कमी आएसँगै आमनागरिकको जनजीवन सहज बन्दै गएको छ । तर केही क्षेत्रहरु नराम्ररी थलिएको हुनाले त्यसमा सहजता आउन समय लाग्छ ।’, सह–प्रवक्ता अधिकारीले भने ‘ जोखिम समाप्त भयो भनेर भन्ने अवस्था छैन । फेरि अर्को भेरिएन्ट पनि फैलिन सक्ने सम्भावना रहेको छ । तसर्थ सबै खाले स्वास्थ्य मापदण्ड पालना गरेर आफ्ना कार्यहरु गर्नुपर्ने जरुरी हुन्छ ।’
कोरोना महामारीको तेस्रो लहर सकिदासम्म स्वास्थ्य मन्त्रालयले कोराना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि अधिकारीको भनाइ छ। स्वास्थ्य मन्त्रालय र सरकारले यो महामारीको बीचमा खोपको व्यवस्थापन गर्नेे, अस्पतालहरुलाई आवश्यक्ता अनुसार सुधार गरेर कोरोना नियन्त्रको लागि उपयुक्त बनाउने, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण काम गरेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले आम नागरिकको जीवनमा सहजता ल्याउन यो समयमा महत्वुर्ण भूमिका खेलको पनि अधिकारीले दावी गरेको छन् । कोरोना विरुद्धको खोप संपूर्ण नेपालीलाई लगाउनु अबको मन्त्रालयको मुख्य काम रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोना महामारीको जोखिम अझै कायम रहेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालन गर्न पनि उनकाे आग्रह छ।
पदम भुजेल
