तुलसीपुर १८ भदौ । दंगीशरण गाउँपालिका वडा नं। ४ बैवाङ निवासी ऋषीराज चौधरी केही वर्ष कैलालीमा गल्लाको व्यापार गर्नुभयो । उहाँको ब्यवसाय राम्रै चलेको छ । चौधरीले अहिले पनि उक्त व्यवसायलाई निरन्तरता दिईरहनु भएको छ । अहिले उक्त व्यवसाय सञ्चालन गर्नकोलागि मान्छे राख्नु भएको छ ।
केही वर्ष कैलालीमा व्यवसाय गर्दागर्दै आफ्नै जन्मथलोमा केही गर्नुपर्छ भन्ने लागेर उहाँ दाङ आउँनुभयो । केही समय घरमै बसेपछि उहाँले बैवाङंमै होमस्टे खोल्नुभयो । होमस्टे अहिले पनि सञ्चालनमा छ । होमस्टेको व्यवसाय पनि राम्रै चलेको छ । गाउँमै पाहुनाहरुलाई थारु परिकारको स्वाद चखाउन पाउँदा उहाँ लगायत उहाँको परिवार एकदमै खुसी अनि सन्तुष्ट छ । होमस्टेमा दैनिक रुपमा पाहुनाहरु बढ्न थालेपछि उहाँलाई यो व्यवसाय प्रति एकदमै हौसला बढ्न थाल्यो । त्यसपछि ऋषीराज र उहाँको दाईले बजार एरियामा पनि थारुलगायत गैरथारु समुदायका व्यक्तिहरुलाई अर्गानिक थारु परिकार खुवाउने सोचका साथ तुलसीपुर ६ गुम्राहा चोकमा थारु किचन सञ्चालन गर्नु भएको छ ।
ग्राहकहरु शान्त र एकान्त ठाउँ मनपराउने भएकाले तुलसीपुर बजारक्षेत्रलाई मध्येनजर गर्दै गुम्राहा चोकमा व्यवसाय सञ्चालन गरेको उहाँले बताउनु भयो । एक वर्ष पहिले खोलिएको थारु किचनले अहिले ग्राहकको माया बटुली रहेको छ । थारु किचनमा थारु परिकारको स्वाद लिन साथीहरुको समूह तथा घरपरिवारका सबै सदस्यहरु पनि खाना नास्ता खान आउँने गरेका छन् । थारु किचेनमा छलफल, बैठकहरुका लागि पनि दुई वटा हल तथा वर्थ डेलगायत अन्य पार्टीकोलागि पनि हलको व्यवस्था गरिएको छ ।
उहाँहरुले ग्राहक वर्गको मागअनुसार थारु परिकार बनाएर खुवाउँदै आउनु भएको छ । सरसफाइमा पनि उत्तिकै उत्कृष्ट रहेको थारु किचनमा स्पेशल थारु परिकारको खाजा सेटसहित अडर अनुसार खानाको समेत व्यवस्था गरिएको सञ्चालक चौधरीले तेस्रो आँखालाई बताउनुभयो । थारु खाजासेटमा चारवटा ढिक्रि, दुईवटा ठोप्वा रोटी, घोंघी, गंगटा, अचार, हाँसको चोइला, कुखुराको मासु, साधेको भटमास, सलाद लगायतका परिकारहरु हुन्छन् । ग्राहकहरुले खान चाहेमा सुटही, माछा, बंगुरको सेकुवा पनि दिइन्छ । थारु किचेनमा चाहिने घोंघी र सुटही देउखुरीबाट ल्याउने गरेको चौधरीले जानकारी दिनुभयो । अन्य परिकार भने आफ्नै गाउँबाट आउँने गरेको उहाँको भनाई छ ।
ग्राहकहरुको मागअनुसारका मदिराहरु पनि राख्दै आएको उहाँले बताउनुभयो । उक्त मदिराहरु उहाँहरुले थारु समुदायले पहिलेदेखि प्रयोग गर्ने माटोका गोल्ड्रा, करैको नापो गरेर दिनुहुन्छ । जुन भाडोले थारु समुदायको झल्को दिने गर्दछ । थारु किचेनमा पाइने परिकार, तरकारीहरुमा बजारको रेडिमेट मसला भन्दा गाउँमै पाइने अर्गानिक मसला त्यसमा पनि सिलौटामा पिसेको प्रयोग गर्ने गरेको उहाँको भनाई छ ।
थारु किचेनमा थारु समुदाय भन्दा अन्य समुदायका व्यक्तिहरु धेरै आउँने गरेको सञ्चालक चौधरीले तेस्रो आँखालाई जानकारी दिनुभयो । चौधरीका अनुसार खासगरी थारु किचेनमा ढिक्रि, घोंघी र गँगटा ग्राहकको रोजाइमा पर्ने गरेको छ । विशेषगरी साँझको समयमा डिनरकोलागि ग्राहकहरु आउने गरेको उहाँले बताउनुभयो । तुलसीपुर र दाङलगायत बाहिर जिल्लाबाट समेत खाजा खान ग्राहक आउँने गरेको उहाँको भनाई छ । एक वर्षको अवधिमा व्यवसाय पनि राम्रो हुँदै गएको उहाँले बताउनुभयो । केही कमीकमजोरीहरु भएमा ग्राहकहरुको सल्लाह सुझावको आधारमा सुधार गर्दै गएको चौधरीले बताउँनुभयो । व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको उहाँको भनाई छ ।
१५ लाख लगानीबाट थारु किचेन सुरु गरेको उहाँले जानकारी दिनुभयो । थारु किचेनलाई अझ व्यवस्थित गरेर सुविधाजनक र खानाको भेराइटी थप गर्दै लैजाने उहाँको सोच छ । अहिले थारु किचेनमा एकजना कुक, वेटरलगायत थारु समुदायका ६ जना युवा युवतीले रोजगारी पाउँनु भएको छ ।
उदीराम चौधरी
