रोल्पा,२८ भदौ । पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्रको रूपमा समेत रहेको सुलिचौर र रुईनिवाङ बजार अनुगमन गरिएको छ । चाडपर्व नजिकिए सँगै प्रशासनले बजार अनुगमन कार्यलाई अगाडी बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय रोल्पा, घरेलु तथा साना उद्योग कार्यालय, सुनिलस्मृति गाउँपालिका, उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त बजारको अनुगमन गरिएको थियो । दशै, तिहार र छठ जस्ता ठुला पर्वहरु नजिकिएसँगै अनुगमनलाई अगाडी बढाइएको बताइएको छ । बजारका २३ खाद्य तथा किराना पसलहरुमा अनुगमन गरिएको थियो । ती पसलहरुमा गरिएको अनुगमनबाट ३३ सय ५३ रुपैयाँ बराबरको म्याद सकिएको सामग्री जफत समेत गरिएको थियो ।

चाडपर्व भित्रिएसँगै बजारमा खाद्य सामग्रीको माग बढी हुने भएकाले यस समयमा अखाद्य वस्तुहरू बढी मात्रामा भित्रिने सम्भावना भएकाले बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका वरिष्ठ उद्योग अधिकृत दिल कुमार वलीले बताउनु भयो । उहाँले भन्नुभयो, अहिले हामीले विशेष गरि खाद्य तथा किराना पसलहरुमा निगरानी बढाएका छौँ। कतिपय पसलहरुमा केही मापदण्ड नपुगेको देखियो ती पसलहरुलाई तत्काल मापदण्ड पुर्याउन निर्देशन गरिएको उहाँले बताउनु भयो ।

बजार अनुगमनका क्रममा कतिपय पसलहरुमा मूल्यसूची नराखेको, सामानको लेभलिङ नगरेको आदी समस्या पाइएको थियो। घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका वरिष्ठ उद्योग अधिकृत दिल कुमार वलीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत पदम डाँगी, सुनिलस्मृति गाउँपालिका प्रशासन शाखा प्रमुख रनविर बुढा, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि लगाएतको उपस्थितिमा बजार अनुगमन गरिएको थियो।
भरत विश्वकर्मा
