तुलसीपुर, २९ भदौ । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लिको पाँचौ साधारणसभा सम्पन्न भएको छ । प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका पूर्व अध्यक्ष एवं सामाजिक अभियान्ता देवीबहादुर डिसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
शनिवार दोघरेस्थित मेट्रो होटलमा भएको कार्यक्रममा पूर्व अध्यक्ष देवीबहादुर डिसीले पार्टी हेरेर नभइ स्वतन्त्ररुपमा व्यावसायिक कार्य गरेको बताउनु भयो । उहाँले यातायात व्यवसायीले आफ्नो दायित्व नबिर्सेर यात्रुहरुलाई समयमा खाना खुवाउन र सभ्य व्यवहार गर्न आग्रह गर्नुभयो । “२०४१ सालमा स्थापना भएको संस्थामा १२ वटा बस थिए, अहिले ६ सय वटा बस छन् जसमा ६ सय चालक, ६ सय सहचालक र करिब २ सय ५० जना कर्मचारीले रोजगारी पाएका छन्” उहाँले भन्नुभयो । त्यस्तै उहाँले सडक र लोभि साहूका कारणले नै गाडी दुर्घटना हुने गरेको बताउँदै सरोकारवाला सबैले यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
त्यस्तैगरी प्रालिका अध्यक्ष शुरेस हमालले यातायात क्षेत्रमा देखिने कमीकमजोरी र लापरवाहीलाई यातायात व्यवसायीले नै सुधार्नु पर्ने बताउनु भयो । राम्रो कण्डिसन भएको गाडी र सबै कागजात लिएर हिडेपछि ट्राफिकले जति पटक चेकजाँच गरेपनि केही समस्या नहुने उहाँले बताउनु भयो । “गाडि सञ्चालन गर्दा देखिने आधारभूत कुराहरु यातायात व्यवसायीले नै सुधार गर्दै जानुपर्छ” उहाँले भन्नुभयो ।
त्यस्तै नेपाली चलचित्रका एक्सन नायक निखिल उप्रेती र हास्यकलाकार कमल गाउँलेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा प्रशासनिक सचिव नारायण न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा ५ सय ७६ जना व्यवसायीलाई चिठ्ठामा सहभागी गराइ नगद, मोबिल, टायरलगायतका पुरस्कारहरु प्रदान गरिएको थियो भने यातायात क्षेत्रमा योगदान पुर्याउने व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।
यातायात प्रालिका संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा व्यवसायीको तर्फबाट केशव भण्डारी, कर्मचारी युनियनका उपाध्यक्ष यज्ञबहादुर वली, अखिल नेपाल यातायात संघका घनश्याम डाँगी, स्वतन्त्र मजदुर यातायात संघका जिल्ला अध्यक्ष दिपक बुढाथोकी, नेपाल यातायात मजदुर संघ दाङका अध्यक्ष पदम वली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाही, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेल, त्रिसिद्धेश्वरी राप्ती यातायात सेवाका पूर्व कार्यालय प्रमुख डा. लाेकराज पराजुली, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने, प्रालिका पूर्व पदाधिकारी नवराज लामिछाने, प्रालिका सल्लाहकार विनोदकुमार रावतलगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।
