तुलसीपुर, १ असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिसका ६ वटा मेसिनहरु बिग्रिएर थन्किएका छन् । कुनै मेसिन एक वर्ष अघि र कुनै ६ महिना अघिबाट बिग्रिएका हुन् । यसरी अस्पतालमा भएका डाइलासिस मेसिनहरू बिग्रिँदा बिरामीहरुले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।
मेसिनहरू बिग्रिएपछि डाइलासिस गराउनु पर्ने बिरामीहरु आफुलाई लागेको बेथाका कारण तनावमा त थिए नै अव उपचार नै असम्भव हुने होकी भनेर थप चिन्तामा परेका छन् । तर बिग्रेका मेसिनहरू बन्ने हुन् कि होइनन् त्यसको कुनै टुंगो छैन । तुलसीपुर उपहानगरपालिका वडा नं ९ बेलुवा निवासी बालाराम थापाले सरकारले सरकारी अस्पतालहरुमा डाइलासिस मेसिन थप्नुका साथै बिग्रिएका मेसिनहरु पनि छिटो छरितो तरिकाले बनाई दिनुपर्ने बताउनुभयो । गत मंसिर महिनादेखि डाइलासिस गराउँदै आउँनु भएका उहाँले आफु जस्ता निम्न आयस्तरका बिरामीहरुलाई निजी अस्पतालमा गएर डाइलासिस गर्न नसक्ने बताउनुभयो । 'निजी अस्पतालमा एक पटक डायलासिस गरेको ८, ९ हजार रुपैयाँ लाग्छ, हामी जस्ताले महँगो रुपैँया तिरेर उपचार गर्न सक्दैनौ, यसमा सरकारले ध्यान दिन पर्छ' उहाँले भन्नुभयो ।
अस्पतालमा पहिले १४ वटा डाइलासिस मेसिन सञ्चालनमा थिए । ६ वटा मेसिनहरु बिग्रिएपछि अहिले ८ वटा मात्र मेसिन सञ्चालनमा रहेका छन् । अस्पतालमा अहिले प्रत्येक दिन तीन चरणमा मृगौलाका बिरामीको उपचार हुँदै आएकोमा मेसिन अभावका कारण अहिले दिनमा दुई पटक मात्र डायलासिस गर्ने गरेको डायलासिस वार्डका इञ्चार्ज लिना भटेलले तेस्रो आँखालाई बताउनु भयो ।
उहाँकाअनुसार ५ वटा मेसिन नबन्ने गरि बिग्रिएको छ भने अर्को मेसिन इन्जिनियरले हेरेपछि मात्र थाहा हुन्छ । अस्पतालमा डायलासिस गर्ने जम्मा ७० जना बिरामीहरु मध्ये जटिल समस्या भएकाहरुलाई दिनमा तीन पटक र अन्यलाई दुई पटक डायलासिस गर्ने गरिएको छ । अझै ३० जना बिरामी उपचारको पर्खाइमा रहेको भटेलले तेस्रो आँखालाई जानकारी दिनुभयो । 'डायलासिसको पर्खाइमा रहनुभएका बिरामीको पालो कहिले आउने भन्ने थाहा छैन' उहाँले भन्नुभयो । एक जना बिरामीलाई डाइलासिस गर्न एउटा मेसिनबाट ५ घण्टा समय लाग्ने भएकोले मेसिन अभावका कारण सबै बिरामीलाई सहज रुपमा सेवा दिन नसकिएको उहाँले बताउनु भयो ।
भटेलकाअनुसार अहिले डाइलासिस वार्डमा कर्मचारीहरुको पनि अभाव भएको छ । यसअघि पर्याप्त मात्रामा कर्मचारी रहेको भएपनि वार्डमा कार्यरत दुईजना कर्मचारीको सरुवा भएपछि सेवामा असहज भएको उहाँले बताउनु भयो ।
अस्पतालका प्रमुख पद्मराज अधिकारीले २०७६ सालदेखि दुईवटा मेसिनबाट डाइलासिसको उपचार सेवा सुरु भएको बताउनुभयो । पहिलेको तुलनामा अहिले उपचारको पर्खाइमा रहेका बिरामीको संख्या पनि घटेको छ । तर यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्ने बिरामीहरु अझै पनि ३० जना उपचारको पर्खाईमा रहेको उहाँले बताउनु भयो । अरु मेसिन नथपिँदासम्म उहाँहरुलाई उपचार दिन नसकिने अस्पताल स्रोतले जनाएको छ ।
'अस्पतालमा थप मेसिनको लागि प्रदेश मन्त्रालयबाट माग गरेका छौं र भर्खरै पनि काठमाडौंबाट मेसिनको अवस्थाबारे जानकारी दिन पत्र आएको थियो' उहाँले भन्नुभयो । अहिलेका बिरामीहरुलाई सहजताका लागि भएपनि ५ वटा नयाँ मेसिन पठाउने भनेर अनुरोध पनि गरेका छौं ।
त्यस्तै मेसिनको प्राविधिक नभएकाले धेरै ज्ञान नहुने र अस्पतालमा तीनवटा कम्पनीका मेसिनहरु रहेको उहाँले बताउनुभयो । नर्सहरुको भनाईलाई उदृद्ध गर्दै उहाँले कुनै कम्पनीको मेसिन छिटो बिग्रने र कुनैको ढिलो बिग्रेको जस्तो लाग्ने गरेको बताउनुभयो । मेसिनको प्रयोग बढी भएर वा सर्भिसिङ नहुनुका साथै मेसिन मर्मत सम्बन्धी दक्ष टेक्निसियन नभएका कारण समयमा मेसिनको चेकजाँच नहुँदा बिग्रेका मेसिन बनाउन नसकिएको उहाँको भनाइ छ ।
उदीराम चौधरी
