नीति संस्कृतिको सवालमा लामो समयदेखि कलम चलाइरहनु भएका एक सिद्धहस्त लेखक पूर्वीय दर्शनका ज्ञाता तथा चिन्तक आदरणीय कमल रिजाल ज्यूद्वारा लिखित "पूर्वीय दर्शन बिमर्श"नामक पुस्तक पढि सिध्याइ सोबारेमा एक पाठकीय विचार टिप्पणी राख्दै छु। लेखकका यस अगाडि पूर्वीय दर्शन मीमांसा,सत्यवती, दृष्टिभ्रम, पृथा, सुकर्म, सुदर्शन, दर्शन भित्रको दर्शन र बिश्वबिख्यात वैदिक बैज्ञानिक जस्ता दार्शनिक पृष्ठभूमिका पुस्तक बजारमा आइसकेका छन् भने विभिन्न पत्रपत्रिकामा यससँग सम्बन्धित रहि कयौं आलेख मार्फत लेखकले आम पाठक वर्गलाई वैचारिक खजाना पस्किरहेका हुन्छन् ।
लेखकसँग यो पंक्तिकारको सामुन्नेमा देखाभेट नभए पनि उहाँका विचार आलेख पढेर नै उहाँलाई थप जान्न, बुझ्न मन गरेको हो । नढाटी भन्ने हो भने पूर्वीय दर्शन प्रति अधकल्चोपन, अनाडी र अल्पज्ञानि सोंचमा बर्बराउँदै हिँड्ने आदत र मुखाले स्वभावलाई जान्ने भएर त्यसरी नहिँड केटा ? पूर्वीय दर्शनको अथाह र गहिरो सागरमा बांकटे मारी मारी पौडी खेल्न इच्छा प्रकट गरेकै होस् भने पहिले त्यसबारे कखरा सिक, जान्ने, बुझ्ने कोशिस गरेँ "त्यहाँ तैले सोंचे बुझे भन्दा बढी ज्ञान खजानाको भण्डार छ।" भन्ने उत्कट अभिलाषा र त्यसप्रति जिज्ञासु हुने भोक जगाउन रिजाल सरकै बिचारबाट लाभान्वित र उत्प्रेरित भएको हुँ । पूर्वीय दर्शन मीमांसा र सत्यवती नामक पुस्तक अध्ययन गरिसकेको छुँ भने दृष्टिभ्रम, पृथा, दर्शन भित्रको दर्शन हातमा परिसकेका छन् विश्वबिख्यात वैदिक बैज्ञानिक र अन्य पुस्तक खरिद लिष्टको सूचीमा छन् ।
मैले माथिनै भनिसकें - पूर्वीय दर्शन सम्बन्धमा सामान्य कखरा सिक्दै गरेको एक सिकारुले त्यसको गुढार्थ र मर्मलाई छिमल्दै र निफन्दै केस्रा केस्रा कोट्याउन खोज्नु बचकनापन र अर्धसिल्ली हर्कत जस्तै हुनजान्छ भन्ने मेरो ठम्याइ हो।
म एक मार्क्सवादी दृष्टिचेतले ओतप्रोत भएको विद्यार्थी हुँ । यसर्थ पनि मेरा धारणा स्वभावगतः आचरण, जीवन जगतलाई हेर्ने विश्व दृष्टिकोण र समझ सोही अनुकूल हुनेनै भए यसको मतलब मैले इश्वरको अस्तित्व र सत्तालाई स्वीकार गर्न र समर्थन गर्न सक्दैन ।
मेरो अध्ययन र समझले भन्छ - ईश्वरले मान्छेको रचना गरेको नभै मान्छेले ईश्वरको रचना तथा जन्म गरायो।
यसकारण कि - हिजो अथार्त समाज बिकासको क्रममा प्रकृति संग लड्न नसकि प्रकृतिमा भएका यावत घटनाहरु जस्तै बाढी पहिरो, चट्याङ, आकाश, पृथ्वी, जल, अग्नि, वायु, सुर्य, तारा, चन्द्रमा दिन रातका घटना प्रक्रियाको कारण खोतल्न र त्यसको वास्तविकता ठम्याउने हेतु त्यस आदिम जंगली अवस्थाका अविकसित र पिछडिएको सोंच चिन्तनले यसो हुनुमा पक्कै केहि रहस्य छ, कुनै न कुनै अदृश्य शक्तिको हात छ त्यो हो ईश्वर भन्दै काल्पनिक भगवानको जन्म गरायो । आफूलाई भर अभरमा साथ र सहयोग गर्ने पृथ्वी अथार्त भूमि, जल, वायु, अग्नि, चन्द्रमालाई देवताको नाममा पुजा गर्ने सम्मान जाहेर गर्दै गीत गाउने मन्त्र जप्ने, परिपाटीको बिकास भयो।
कालान्तरमा हिजोको आदिम साम्यवादी मान्छे, सामुहिक प्रणालीमा बस्ने मान्छेको निजी चाह, निजी आश्यक्ता, सम्पत्तिको मोह बढ्दै जाँदा सुरक्षाको खाँचो, गण नायक राजा, पुरोहित, धर्म, ईश्वर, सेना, पुलिस, अड्डा, अदालतको आवश्यक्ताको महशुस र त्य्स प्रबन्धलाई थप बिकसित र सुदृढ तुल्याउँदै समाज आजको आधुनिक समाजसम्म आइपुगेको सत्य हो । यसको मतलब समाज यहाँसम्म आइपुग्न कथित अलौकिक ईश्वरको हात र साथ नरही मान्छेले जिउने सिलसिलामा आफै भित्रका समस्याको समाधान र जुक्ति निकाल्दै आधुनिक सभ्य युगसम्म आइपुगेको हो भन्नेमा दृढ मत जाहेर गर्दछु।
फेरि पनि यसो भनिरहँदा र दाबी गरिरहँदा के पूर्वजहरुले, ऋषि महर्षि र बिदुषिहरुले तत्कालीन परिस्थिति र चेतनामा आफ्नै अनुभव र हन्डरठक्करद्वारा आर्जित र सिर्जित सम्पूर्ण ब्रह्माण्ड र जीवन जगत प्रतिका बुझाइ र ठम्याइका दृष्टिकोण पुरै बेठीक असान्दर्भिक र अबैज्ञानिक छन् त ? के आफूलाई कथित प्रगतिशील, भौतिकवादी, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारीहरुले भनेझैं पूर्वीय दर्शनका ज्ञान खजानाहरु नाकाम, रुढी, अबस्तुवादी, अबैज्ञानिक बिचारले मात्र ओतप्रोत छन् त ? अहं किमार्थ होईन, म त्यस जडमती र कट्टर सोंचप्रति असहमत प्रकट गर्दछु र भन्न चाहन्छु ।
आफूले राखेको आस्था र बिचार प्रकटभन्दा अरुले आफूप्रति किन असहमत धारणा राखे र फरक मत दर्ज गरे ? आफूलाई अरुद्वारा कसरी पढिदै र भनिदै छ ? भन्नेबारेमा फरक मतका स्वर आवाजलाई गहिरो गरि नबुझेमा, उनीहरुका रुचि सरोकारका विषय सामाग्रीको अधययन गर्न कन्जुस्याइँ गरेमा नितान्त आग्रही पुर्बाग्रही र एकपाखे भइनेमा कुनै शंका छैन ।
पूर्वगत अवधारणा र मान्यताको त्यसै जडमतले म पनि शिकार भएको र अद्यापि पनि फरक मत र दर्शनमा खुल्ला हृदयकासाथ प्रस्तुत हुनमा अनकनाउने समस्या रहेको स्वीकार गर्दछु ।
र त्यस खबरप्रति सचेत रहदै फेला परेसम्मका फरक मतका बुझाइ र दर्शनलाई पढ्ने बुझ्ने चेष्टा गर्छु । सकारात्मक जीवनदायी बैज्ञानिक पक्षलाई अवलम्बन गर्न र आत्मसात कुनै कन्जुस्याइँ गर्दिन भने अबैज्ञानिक र रुढ पक्षलाइ दृढतापूर्वक अस्विकार र नामन्जुर गर्दछु ।
प्रस्तुत पुस्तक "पूर्वीय दर्शन बिमर्श" पढ्दै गर्दा मेरा पूर्वगत मान्यता र धारणाहरुका जराहरु क्रमशः खल्बलिंदै, चर्किदै र भत्कदै गइरहेको अनुभूत गर्दैछु र थप जान्ने, बुझ्ने उत्कट अभिलाषाले कुत्कुताइ रहेको यसै महशुस गरेको छु।
अब जाउँ पुस्तक भित्र के छ त ?
पुस्तकमा वैदिक दर्शन खण्ड अन्तर्गत वेद उपनिषद् र पुराणको चर्चा गर्दै नेपाल वेद भूमि रहेको, व्यास, वाल्मीकि, वशिष्ठ, कस्यप र अत्री जस्ता ऋषि महर्षिहरुको बिचार र व्यबहारले नेपाल भूमिलाई संचित गर्दै उनीहरुले निर्वाह गरेको सन्तुलनकारी भूमिकाको के कस्तो रहेको थियो ? विश्व समाज प्रगाढ निद्रामा रहेको बेला दुनियाँ ब्युंझाउने जगाउने वेद उपनिषद् र पुराणमा समाविष्ट बिचार निर्माणको जग आधार कसरी खडा गरिए ?
वेदका मन्त्रणाहरु र संहिताहरु तयार पार्न ऋषि महर्षी र विदुषिहरुले के कस्तो योगदान दिए ? कुन सन्दर्भ र समय चेतनामा वेद, उपनिषद् र पुराणहरु रचित गरिए ? वैदिक ग्रन्थमा ब्रह्मसूत्र ग्राम्यको महत्व र त्यसमा अभिव्यक्त बिचार सामाग्रीहरु के कस्ता छन् ? वैदिक शासन प्रणालीमा जन सहमति र शास्त्र वलको तालमेल समन्वय र प्रभावकारि भूमिका के कस्तो रहन गएको थियो ? वैदिक ग्रन्थ पछिका प्राचीन ग्रन्थ रामायण र महाभारतकालिन शासन ब्यवस्था प्रणालीबाट आजको लोकतान्त्रिक र गणतान्त्रिक समय चेतनाका शासक हौ भन्ने नेतृत्वहरुले कस्तो पाठ सिक्न जरुरी छ ? वैदिक युगमा राज्य र राष्ट्र निर्माण, राज्य अंग परिचालन, राज्यकोषको स्रोत जुटाउने तरिका, संचित रकम, वैदिक जीवन पद्धति, विश्वमा वैदिक साहित्यको प्रभाव के कस्तो रहन गएको थियो ? यसबारे लेखकले बिषद चर्चा गरेका छन् ।
त्यसैगरी पुस्तकमा हिजो तत्कालीन अवस्थामा र समय चेतनामा समाज आदिम जंगलि युग, ओढार, ढुंगे, बर्बर, कृषि तथा पशुपालन, दासकालिन र सामन्ती समाजतर्फ अगाडि बढ्दै गर्दा सामुहिक बसाइ, सामुहिक उत्पादन प्रणालीबाट क्रमशः निजी सम्पत्तिको मोह, तेरिमेरी लडाइँ झगडा सुरक्षाको आवश्यक्ताको शृङ्खलासँगै समाजमा अस्तब्यस्त, भद्रगोल कंचिगल, अराजक र भडकाउ नफसोस भन्नाखातिर समाजमा शान्ति सुरक्षा, आपसी सद्भाव, भाइचारा र सुशासन कायम राख्ने हेतु डर, कर र भरको दार्शनिकको जग आधार निर्माण गर्न धर्म, ईश्वर, नैतिकता, कर्तब्यका सिमा रेखा कोर्नमा वैदिक दर्शन र ग्रन्थमा समाविष्ट बिचार सामाग्रीले ऐतिहासिक कार्यभार सम्हालेको, ती विचारले समग्र मानव हित र स्वार्थलाई प्रतिनिधित्व गरेकोले वैदिक ग्रन्थ, रुढी अन्धबिश्वास र अबैज्ञानिक विचारहरुको थुप्रो मात्र हो भन्ने सोंच, आफैमा बच्कनापन, अब्यवहारिक, असामाजिक, अल्पज्ञानि र अतिबादीहरुको सोंच र प्रबृत्ति हो भन्दै लेखकले रुढी र अन्धताको बिरोधमा झनै रुढी र जड मत प्रदर्शन गर्ने त्यस अतिबादी रुझानप्रति तिब्र असहमति प्रकट गर्दै पूर्वीय दर्शन र वैदिक ग्रन्थहरुको गहनता र गुढार्थलाई बुझ्न सबैसँग विनम्र आग्रह गरेका छन् ।
त्यसैगरी पुस्तकमा पौराणिक दर्शन खण्ड शीर्षक अन्तर्गत ब्रहमपुराण, पदमपुराण, शिव पुराण, भागवत पुराण, नारद पुराण, अग्नि पुराण, भबिस्यपुराण, ब्रहमवैर्त्पुराण, बराहपुराण, स्कन्दपुराण, वामन पूराण, कुर्म पुराण, मत्स्य पुराण, गरुड पुराण, ब्रह्माण्ड पुराणहरुमा समाविष्ट र अभिव्यक्त बिचारहरुको चर्चा गर्दै पुराणहरु आफैमा वेद र वेदान्तकै अंग रहेकोले नितान्त मिथक मात्रै नभै जीवन र जगत सम्बन्धि विश्व दृष्टिकोष पनि रहेको, जसमा जीवन दर्शन, साहित्य, संगीत, कला, ज्ञान, बिज्ञान, धर्म, अर्थ, काम, मोक्ष जस्ता जीवनोपयोगी विषयबस्तु समेटिएको, कतिपय प्रसङ्ग आजको समय चेतना र सन्दर्भमा अतिरन्जित असुहाउँदो र बेठीक जस्तो लागे पनि ती सबै बिचारहरुले समग्रमा तत्कालीन घटना र परिवेश बुझाउन, कुनै न कुनै रुपमा तत्कालीन समाजको कृषि, भूगोल, अर्थ ब्यवस्था, जिबिकोपार्जन सामाजिक जीवन पद्धति, रितिरिवाज, रहनसहन आदिका बारेमा जानकारी दिने हेतु प्रस्तुत गरिएका दृष्टान्तहरु मात्र रहेको, सृष्टिदेखि प्रलयसम्मका गतिविधिलाई लयबद्द ढंगले चित्रण गरि कसरी मानव जीवनलाई सुखी, समृद्ध र आनन्दित गराउन सकिन्छ भन्ने कुराको मार्गदर्शन गराउँदै सारा संसारलाई एउटै कुटुम्ब हो भन्ने तथ्यबोध गराउने मकशद रहेकोले पुराणहरु पुराना कुरा मात्र नभई वर्तमानलाई मानव हितमा सदुपयोग गर्न सिकाउने शास्त्र र सिद्धान्त रहेको कुरामा जोड दिइएको छ र त्यसबारे बिषद चर्चा गरिएको छ।
त्यसैगरी पुस्तकमा संस्कृति संरक्षण खण्ड शीर्षक अन्तर्गत धर्म र संस्कृतिको परिभाषा, धर्मान्तरण हुनुको कारण, समस्या, तरिका उपाय, हिन्दु दर्शनको विशेषता र औचित्यताबारे जानकारी दिदै लेखकले धेरै मानिसमा, आम बुद्धिजीवी र नागरिक समाजमा समेत हिन्दु धर्म हो कि, संस्कृति भन्नेबारेमा अन्यौल र दिग्भ्रम रहेकोले हिन्दु किमार्थ पनि धर्म नभइ संस्कृति रहेको बारेमा प्रष्ट्याएका छन् ।
त्यसैगरि हिन्दु धर्मको बाहुल्य रहेको नेपाललाई कसरी, कुन नियत र योजनामा नेपालको संबिधानमा किटान गर्दै धर्म निरपेक्ष राष्ट्र घोषित गरियो ? युरोपियन मुलुकहरुले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको भन्दै कसरी धार्मिक स्वतन्त्रताको हवाला दिदै नेपाललाई क्रीस्तानी साम्राज्यको खेल मैदान बनाउन चाहिरहेका छन् ? उनीहरुले कसरी सहयोगको नाममा नेपालका दुर दराजका बस्ती चाहार्दै त्यहाँका आदिवासी जनजाति, दलित, महिला, थारु, मधेसीजनको मनोबिज्ञान माथी खेलवाड गरि धर्मान्तरणको प्रक्रियालाई सुनियोजित र घनिभुत ढंगले अगाडि बढाइरहेका छन् ?
धर्मान्तरणको प्रक्रिया, प्रभाव र बिस्तार यसैगरी अगाडि बढेमा, नियमनमा आलटाल, अनदेखा, नामालुम, होजायगा र मुकदर्शक भएमा कालान्तरमा कुनै दिन नेपालको सार्बभौमसत्ता, अखण्डता र स्वतन्त्र अस्तित्वमा समेत आंच आउन सक्ने खतरनाक परिस्थिति सिर्जना हुन सक्ने सम्भावना रहेको भन्दै लेखकले नेपालका शासक बर्ग, सचेत नागरिक समाज, युवा विद्यार्थी र देशभक्त नेपालीलाई त्यस खबरप्रति अद्यावधिकमा रहि त्यसो हुन गर्न नदिन आआफ्नो तर्फबाट सचेत पहल लिन, खबरदारी गर्न सदा चंख र सचेष्ट भूमिका निर्वाह गर्न सार्बजनिक आह्वान गरेका छन् ।
त्यस्तै पुस्तकमा हिन्दु संस्कृति कुनै धर्म नभई दर्शन, सिद्धान्त र क्रान्ति रहेको जिकिर गर्दै ढुंगा, मुढा हावापानी, झारपात किटपतंग, पशुपंक्षि लगायत सबैलाई देवता मानेर सम्मान गर्ने संस्कृति विश्वमा कुनै छ भने हिन्दु संस्कृति रहेको, संसारमा कतै नभेटिएको बाघ र बाछोको मित्रता, सर्प र मुसाको सद्भाव मयुर र सर्पको सहकार्य पनि यसै संस्कृतिमा भेटिएकोले पाषाणकालिन त्यो अँध्यारो कालखण्डबाट गुज्रिदै आएको समाजलाई सर्बप्रथम सामाजिक प्राणीको पहिचान गराउने संस्कृति रहेकोले सामाजिक मर्यादा, नैतिक मूल्य मान्यता, मानबले जन्मदेखि मृत्यु पर्यन्त गर्नुपर्ने काम कर्तव्यका दायरा, जिम्मेवारी र अभिभारा तोक्दै नीति, रिति, थिति र बिधिको जग आधार खडा गर्दै समाजलाई ब्यबस्थित अनुशासित, आपसी भाइचारा, सद्भाव तथा मेलमिलाप पूर्ण वातावरण बनाइ समाजलाई डोर्याउन, हांक्न हिन्दु, वैदिक जीवन दर्शन संस्कृतिको महत्त्व र सान्दर्भिकताबारे लेखकले विषद चर्चा गरेका छन् ।
त्यसैगरी पुस्तकमा शब्द तथा सदाचार खण्ड शीर्षक अन्तर्गत वेद, पुराण, बौद्ध ग्रन्थ, बाइबल तथा कुरान लगायतका धर्मशास्त्रमा शब्द स्रोत, वाणिको संयम, वैदिक ग्रन्थहरुमा पंच महायज्ञ गर्नुको औचित्य र महत्त्व, त्रेता युगमा रामको शासन कालमा सत्ता संचालन प्रक्रिया, नागरिकप्रति उत्तरदायी र जिम्मेवारी भावना, विधि र अवस्था,लंकामा रावणको साम्राज्य, हाइहुकुम र राज्य शासन प्रणालीको ढांचा, मंथरा र कैकैयी जस्ता पात्र र प्रबृत्तिका बारेमा चर्चा गरिएको छ।
त्यसैगरी पुस्तकमा पशुबली प्रथा, बोक्सी प्रथा तथा संस्कृतिको पर पिडक, अन्यायी, अमानवीय र संबेदनहिन मनोवृत्तिको बारेमा बिबेचना गर्दै लेखकले संस्कृति र संस्कार मान्छेले तत्कालीन परिस्थिति र चेतनामा आबश्यक्ताको आधारमा मानी आएकोले समयक्रममा त्यस संस्कृतिले जब बोझिल, झिन्झट र अन्यायीको रक्षाकबच र पक्षपोषण हुन्छ भने किन्तु, परन्तु नभनी त्यस संस्कृतिलाई संशोधन गर्न सकिने, विकल्पका बाटा तय गर्दै नयाँ संस्कृति र संस्कारको बिकास गर्न सकिने राय प्रकट गरेका छन् ।
त्यसैगरी पुस्तकमा मातृभूमिको बेदना शीर्षक अन्तर्गत राजनीतिक नेतृत्वले र शासन सत्ताको बागडोर सम्हाल्नेहरुले देश बिकासको समग्र स्वार्थ भन्दा पार्टीगत स्वार्थ, सत्ताको लागि अनावश्यक हानथाप, कुशासन, अबिकाश, अस्थिरता, अब्यवस्था र भद्रगोललाई निरन्तर दिएमा समयमै सच्चिने र सच्याउने प्रयास नगरेमा जसरी महाभारत कालकि मूल पात्र द्रौपदी र पाण्डबहरुले जीवनको अन्तिम क्षणमा भूल सुधार, पश्चाताप र स्वर्गको बाटो तय गर्न हिंडिरहेको अबस्थामा एक पछि अर्को गर्दै मृत्यु बरणको अन्तिम श्वास लिंदै गर्दा, एकापसमा सहयोगि हातको भिख माग्दा द्रौपदिका पांच पति पांडब र भातृत्व र बन्धुत्वको अनुपम उदाहरण प्रस्तुत गरेकाहरु सबैले जसरी त्यस सहयोगि हात र याचनालाई वेवास्ता, अनदेखा र नामलुमको रुख अख्तियार गरे मा देश दुर्गतिको बाटोतर्फ उन्मुख हुने हुंदा त्यसको मार खेप्न बिबश मातृभूमिले असाध्य रोगले गलाएर पिडामा छट्पटीदै गर्दा कसैले नसुन्ने अवस्थामा पुगि देश झनै कुशासन, अबिकाश र अस्थिरतातर्फ जाकिन सक्ने त होईन भन्दै लेखकले त्यस सम्भावना र परिस्थितिका बारे गम्भीर चिन्ता प्रकट गरेका छन् ।
त्यसैगरी पुस्तकमा समाज र संस्कार शीर्षक अन्तर्गत अन्त्येष्टि कर्म सुधार अथार्त परम्परागत रुपले मान्दै र गर्दै आएको १३ दिने मृत्यु संस्कार कर्म बिधिलाई १३ दिन, ५ दिन वा ३ दिन गर्ने सम्बन्धमा कर्म सुधार समिति लगायत आम नागरिक स्तरमा चलेको व्यापक बहस बिमर्शमा लेखकले खुदै गम्भीर स्रोता तथा पाठकको भूमिका निर्वाह गर्दै संशोधन, छिटोछरितो, कम खर्च, कम बोझिल, कम झिन्झट र सुधारको प्रयास गर्दा धर्म संस्कार माथी आँच आउने भन्ने एकथरिको जबर्जस्त भनाइप्रति आफ्नो कुरा राख्दै त्यसो होइन बरु संशोधन र सुधारको प्रयास नगर्दा, समय सापेक्ष हुन नसक्दा संस्कारको मर्म र मर्यादा माथी प्रश्नहरु उब्जिरहने र आँच आउने सम्भावना तड्कारो रुपमा उपस्थित हुने देखिएकोले सो सम्बन्धमा आधिकारिक निकायबाटै अधिकार सम्पन्न समिति गठन गरि राष्ट्रिय स्तरमै छलफल गराइ सर्बसहमति जुटाइ छिनोफानो तथा निष्कर्षमा पुग्न सकिने र यसो गर्दानै अन्त्यष्टी विधि माथी रुढी, अन्धबिश्वासी, अबैज्ञानिक, खर्चिलो र झन्झटिलोपन जस्ता अपगाल, अपजस र आरोपबाट बच्न सकिने र तत सम्बन्धमा आफ्नो तर्फबाट सुधार र विकल्पका उपाय समेत सुझाएका छन् लेखक रिजाल सरको सुझाब आजको सन्दर्भमा अत्यन्तै मननिय र ग्रहणयोग्य रहेकोले यस पंक्तिकारले पनि सहमत प्रकट गर्दछ।
त्यसैगरी पुस्तकमा लेखकले धार्मिक पर्यटकीय क्षेत्रको दृष्टिले नेपाल विश्वकै उत्कृष्ट गन्तव्यस्थल पर्ने भएकोले धार्मिक सांस्कृतिक र सामाजिक सम्बन्धको गांठोलाई अझै मजबुत बनाउन आर्थिक उपार्जनमा समेत मद्दत पुग्ने किसिमले धार्मिक पर्यटनलाई समन्वय गरि त्रिदेशीय अथार्त (भारत, चीन र नेपाल) बनाउन राज्यले पहल लिन शक्त जरुरी रहेको लेखकको ठहर रहेको छ।
त्यसैगरी पुस्तकमा संस्कृत साहित्यका आदि कवि रामायण जस्तो चर्चित ग्रन्थका रचयिता महर्षी वाल्मीकि र महाभारत गीता, बेद, पुराणका रचयिता ब्यास दुबै महर्षि नेपाल आमाका सपूत भएकोले उनीहरुको विद्वता, कृतित्व र ब्यक्तित्वको चर्चा गर्दै कदर स्वरुप शालिक निर्माण समेत गरेमा उपयुक्त र प्रभावी हुने, वैदिक सनातन धर्ममा कुम्भ महोत्सव, काशी, गंगा नदि, आषाढ शुक्ल गुरु पुर्णिामा गुरु बन्दना, राष्ट्रिय जनाबर गाई त्यसको दूध, गहुंत र गोबरको महत्त्व र कु अन्नको प्रभाव, बिस्तार र असरबारेमा समेत बिस्तृतरुपमा बिबेचना गरिएको छ।
अन्त्यमा पुस्तक माथी चर्चा गर्दै आदरणीय बिजय चालिसे जिले भूमिका लेखनमा उल्लेख गरेझैं "वैदिक साहित्य संसारकै अमूल्य निधि बनेको तर हामीले यसलाई बांदरको हातमा नरिवल बनायौ । वैदिक साहित्यको गहिरिएर अध्ययन गर्ने, यसको मर्मबोध गर्ने, यसका ज्ञान बिज्ञानको प्रचार प्रसार गरि लाभ लिने दिनेतर्फ भन्दा कण्ठस्थ गरेर आफूलाई वेदको ज्ञाता ठान्ने भ्रममा बाँच्यौ, यहि भ्रमका कारण ज्ञान भन्डारका अमूल्य ग्रन्थलाई पुजा कोठामा थन्क्यायौ ती अमूल्य ग्रन्थलाई पर्गेल्ने भन्दा जल, चन्दन र अक्षता छर्कदै गलाउने, सडाउने मूर्खतापूर्ण अभ्यास गर्यौ । वेद, पुराण र उपनिषद्का सहि अर्थ बोधनै नगरि प्रतीक र विम्बलाई सोझो अर्थमा स्वर्ग, नरक, दान, धर्मका सीमित घेरा भित्र कैद गराउंदै रोजि रोटीको मतलब पूरा गर्नमा मात्र ध्यान खबर राख्यौं तर उता पश्चिमी विद्वानले वेदले उठाएको मर्मलाई बुझि ज्ञान बिज्ञान र दर्शनको प्रयोगमा लिए, तर हामी ब्राह्मणबाट कर्मकाण्डि बन्यौ, धर्मको नाममा अन्धबिश्वासको जालो फैल्याएर शोषणको चक्र चलायौ । धर्म कमाउ धन्धा बन्यो । हामीले दक्षिण भारतका पंडितहरुको कर्मकाण्डि दाउपेच बुझ्न कोशिस गरेनौं । वास्तविक सनातन धर्म र दर्शनलाई विकृत तुल्याउदै गयौ । कर्म अनुसारको वैदिक वर्ण ब्यवस्थालाई जाती प्रथाका रुपमा छुवाछूतको अमानवीय कलंक बनायौ । ज्ञान र शिक्षामा एकाधिकार राख्ने खेलमा आफ्नै दाजुभाइलाई निरक्षर र पराइ बनाउँदै गयौं । वेद उपनिषद् र पुराणमा अभिव्यक्त दार्शनिक पक्षलाई भुल्दै गयौं ।यसरी पराइ धर्मलाई स्वागत गर्ने सहज वातावरणको निर्माण गर्दै गयौ।"
उपरोक्त पृष्ठभूमिप्रति गहिरो बोध र चिन्ता प्रकट गर्दै पूर्वीय दर्शनको गहनता, ओज र महत्वलाई बुझाउनमा लेखकले यस पुस्तकमार्फत भगिरथ कोशिस गरेका छन् । आफूलाई द्वन्द्वात्मक भौतिकबादी, प्रगतिशील, क्रान्तिकारी हौ भन्नेहरु र सनातन धर्म रक्षाको पक्षपातीहरुको एकपाखे जडमत र कट्टर सोच, चिन्तन र प्रबृत्तिमा लेखकले गैटी चलाएका छन् । त्यस सिमेन्टेड तर जर्जर रुढ, मुढ र हठबादी मार्काको दार्शनिक समझको जग आधारलाई चर्काउने र भत्काउने कर्ममा हिम्मती र आंटी बनेका छन् । त्यसो होईन यसो हो भन्दै वैदिक दर्शनको गुढार्थलाई र खास मकशदलाई नियाल्न र परख गर्न सबैलाई सार्बजनिक अपिल जारी गरेका छन् ।
जम्मामा पूर्वीय दर्शन प्रति ज्ञान चासो राख्ने जिज्ञासु पाठक तथा स्रोताको लागि पूर्वीय दर्शन बिमर्श पुस्तक अत्यन्तै खंदिलो ज्ञानबर्धक रहेकोमा कुनै शंका छैन । यति गुनिलो र महत्व बोकेको पुस्तक लेखनमा जांगर र मिहिनेत खर्ची दुनियाँलाई ज्ञान बाँड्न मन गर्ने लेखक आदरणीय कमल रिजाल सरलाई सतत नमन, आदर र सम्मान प्रकट गर्दछु । आउँदा दिनहरुमा सरको मस्तिष्क मन्थनको गर्भबाट झनै सुन्दर, विचार प्रधान र सन्देशमूलक विचार कोशेलिको जन्म हुन सकोस् । अग्रिम बधाई तथा शुभकामना ।
