काठमाडाैं, १५ फागुन । अभिनेता पल शाहले आइतबार प्रहरी सामु उपस्थित हुने बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै आज प्रहरी सामू आफै जाने बताएका हुन् ।
शाहले स्वास्थ्य अवस्था बिग्रिएकाले, घरकाे व्यवहार मिलाउनु परेका साथै फिल्म प्रर्दशनलगायतका कारणले प्रहरी सामु उपस्थित हुन नसकेकाे बताएका छन् । उनले प्रहरी सामु उपस्थित हुन नसकेकाेमा माफीसमेत मागेका छन् । नेपालकाे कानुनकाे सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरीसामु आफै उपस्थित हुने उनले जानकारी दिएका छन् ।
उनी लेख्छन् 'मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म 'म यस्तो गित गाउछु २' गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद । '
शाहविरुद्ध एक गयिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर गरेकी छन् ।
