तुलसीपुर, ५ कात्तिक । स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुले मागअनुसार बजेट नै नपाएको गुनासो गरेका छन् । फेडो संस्थाको आयोजनामा सोमबार तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका वडाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा उनीहरुले दलित समुदायको लागि वा दलित महिलाको नेतृत्वमा भौतिक विकासको कामका लागि वडाले आवश्यक बजेट छुट्याउन नचाहेको गुनासो गरेका हुन् । आफूले काम गर्नकोलागि आवश्यक बजेटको माग गर्दा अन्य कुराले टार्ने अथवा बजेट नै घटाएर दिंदा काम गर्न कठिन भएको गुनासो गरेका छन् ।
तर कतिपय वडाले भने कुनै भेदभाव नराखी बजेट विनियोजनबारे छलफलमा सहभागी गराई सहमति अनुसार बजेट छुट्याउने गरेको पनि बताए । सोही कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ की दलित महिला वडासदस्य दिलमाया नेपालीले वडाध्यक्षको भनाइलाई उदृध गर्दै दलित समुदायकोलागि बजेट छुट्याएर काम गर्न सकिएन भने बजेटको सदुपयोग हुँदैन बरु राम्रो कार्यक्रमको योजना भएमा आफूले १० लाखसम्मको बजेट छुट्याइदिने आश्वासन दिएको बताउनु भयो । तुलसीपुरका अन्य वडाभन्दा ३ नम्बर वडा विकट रहेकोले उपमहानगरले कम बजेट छुट्याउँदा कार्ययोजना पूरा गर्न निकै कठिन भएको उहाँले बताउनु भयो ।

तुलसीपुर वडा नम्बर ८ की निमा सार्कीले आफूले प्रतिनिधित्व गरेर विकासको काम गर्न नपाएको गुनासो गर्नुभयो । कामको जिम्मेवारी पाए पनि अन्य प्रतिनिधिको हस्तक्षेपका कारण आफू पछि परेको उहाँको भनाइ थियो ।
त्यस्तै तुलसीपुर वडा १० कि सरु सुनारले आफूले वडाका कर्मचारीसँग सल्लाह गरी आवश्यक बजेट माग गरेको र उहाँहरुले ठिक छ भनेपनि बजेट घटएर दिने गरेको बताउनु भयो ।
दंगीशरण गाउँपालिका ६ की दलित महिला वडासदस्य एवं गाउँपालिका कार्यपालिका सदस्य सितारा नेपालीले आफ्नो पालिकामा यसभन्दा अघि दलित महिलाको लागि बजेट छुट्याएको थाहा नभएको र आफू आइसकेपछि छुट्याउन थालेको बताउनु भयो । ‘मैले बैठकमा दलित शीर्षकको बजेट माग गर्दा पटक पटक दलितको लागि मात्रै बजेट मागेको भन्नुहुन्छ’ उहाँले भन्नुभयो ‘बजेटकै छलफलमा पनि वास्ता गर्नुहुन्न ।’
उहाँले बजेट विनियोजन गर्दा दलितको प्रतिनिधि भएन भने दलितको लागि बजेट नै नआउने बताउनु भयो । कतिपय प्रसंगमा अप्रत्यक्ष रुपमा दलित जातिको कुराले घोच्ने गरेको गुनासो गर्नुभयो । आम मान्छेहरुले दलितबारे सकारात्मक सोच राखिदिएमा मात्र दलितहरुको प्रगति हुने बताउनु भयो । साथै आफू जनप्रतिनिधि भएर आएपछि आँखाको उपचार, महिलाको लागि पाठेघरको उपचार जस्ता कार्यक्रमहरु ल्याएको बताउनु भयो ।

तुलसीपुर वडा ११ की दलित महिला वडासदस्य प्रभा परियारले पहिलो वर्ष सिक्नमै बितेको र पछि बुझ्दै जाँदा दलित समुदाय वा दलित महिलाहरुको लागि साथै आवश्यक भौतिक कार्यको लागि बजेट माग गर्दा सहज भएको बताउनु भयो । र आफ्नो पहलमा बेलटाकुरामा पनि पुल निर्माण गर्न सफल भएको उहाँले बताउनु भयो ।
त्यस्तै तुलसीपुर वडा नम्बर १३ की दलित महिला सदस्य बेलमति परियार, तुलसीपुर वडा ९ की दिलकुमारी परियार, शान्तिनगर वडा ३ की भिमा नेपाली, शान्तिनगर वडा ४ उमा विकले फेडो संस्थाले दलित महिलाहरुलाई सचेत बनाउनुका साथै क्षमता अभिवृद्धिमा पनि सहयोग गरेको बताउनु भयो । साथै वडाको हरेक गतिविधिमा आफूलाई सहभागी गराइ सल्लाह र सहमतिअनुसार अघि बढेको र जिम्मेवारी दिएको काम पनि सजिलै सम्पन्न गरेको उहाँहरुको भनाइ थियो ।
पत्रकार गिरीराज नेपालीले दलितलाई परिवर्तन गर्न शिक्षा आवश्यक रहेको बताउनु भयो । तसर्थ दलित महिला जनप्रतिनिधिहरुले दलित समुदायका बालवालिकाहरुको लागि उचित शिक्षा दिनुपर्नेमा जोड दिन आग्रह गर्नुभयो । भौतिक विकास चलिरहन्छ नै तर मानवीकी विकास हुन जरुरी रहेको बताउनु भयो ।
त्यस्तै पत्रकार ओपेन्द्र बस्नेतले बोल्न डराउने जो कोही पनि पछि पर्ने बताउनु भयो । उहाँले अधिकार मात्र नभइ कर्तव्य पनि सिक्नुपर्ने बताउनु भयो ।
फेडो संस्थाका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका दलित महिलाहरुको सहभागी रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष युवा कराराले दलित महिला अघि बढ्नको लागि योग्यता र क्षमता वृद्धि गर्नुपर्ने बताउनु भयो । दलितको समग्र विकास गर्न सरकारको योजना तथा बजेटमा पहुँच पुगेनपुगेको वा अघि बढ्न देखिएका चुनौतीका बारेमा जानकारी बाहिर ल्याउन यस कार्यक्रमको आयोजना गर्नुपरेको बताउनु भयो ।
उदीराम चौधरी
