रोल्पा, ०५ कार्तिक। पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्रको रूपमा रहेको रुइनिबाङ र सुलिचौर बजारमा सञ्चालित फ्रेस हाउस, एग्रोभेट र डेरी उद्योगको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी पदम बहादुर डाँगीको संयोजकत्वमा अनुगमन गरिएको थियो।
सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने उक्त बजार क्षेत्रमा गरिएको अनुगमनमा अधिकांश पसलहरूमा मूल्यसूची नभएको, बिल तथा पसलको छाप नभएको, फ्रेस हाउसहरू प्रायः अव्यवस्थित रूपमा सञ्चालनमा रहेको, कतिपय पसलहरूमा साइनबोर्ड समेत नभएको पाइएको थियो । साथै कतिपय पसलहरू दर्ता बिनै सञ्चालनमा रहेको समेत पाइएको थियो ।
गत वर्षभन्दा यो वर्ष फ्रेस हाउसका पसलहरूमा केही सुधार भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डा।शंकर न्यौपानेले बताउनुभयो। पसलमा मूल्यसूची नराखेका व्यवसायीहरूलाई मूल्य सूचि राख्न निर्देशन दिएको उहाँले बताउनुभयो । अनुगमनको समयमा एक एग्रोभेटबाट करिब ३ हजार रुपैयाँ बराबरको म्याद गुज्रिएको सामग्री जफत गरिएको उहाँले जानकारी दिनुभयो।
पसल सञ्चालनको सामान्य मापदण्ड पनि पालना नगरी व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गर्न सुझाब दिएको सहायक प्रमुख जिल्ला अधिकारी पदम बहादुर डाँगीले बताउनुभयो। कतिपय व्यवसाय दर्ता बिनै सञ्चालनमा रहेको पाइएकाले ति व्यवासायहरूलाई दर्ता गरी सञ्चालन गर्न सुझाब दिइएको थियो । व्यवसाय दर्ता नगरी सञ्चालनमा रहदा राजस्व चुहावट भैरहेको उहाँले बताउनु भयो।
जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकार पदमबहादुर डाँगीको संयोजकत्वमा भएको अनुगमन जनप्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डा. शंकर न्यौपाने, कार्यालयका अन्य कर्मचारी, सुनिलस्मृति गाउँपालिका पशुसेवा शाखा, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो।
मासु व्यावसायिलाई अभिमूखिकरण
बजार अनुगमन पश्चात् भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाद्वारा मासु पसलका व्यवसायिहरूलाई व्यवसाय सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिएको थियो। कार्यक्रमको सहजिकरण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. शंकर न्यौपानेले गर्नुभएको थियो । मासु व्यवसायीहरुका लागि पसल व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि उक्त अभिमूखिकरणमा सुझाब दिइएको थियो। व्यावसायीहरुलाई अभिमुखिकरणमा डा।न्यौपानेले उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले यस मापदण्ड पुर्याएर व्यावसाय सञ्चालन गर्नका लागि सुझाब दिनुभयो। मानिसमा लाग्ने अधिकांश रोगहरु पशुपक्षीँबाट लाग्ने भएकाले सुरक्षित र व्यवस्थित गरी सञ्चालन गर्न सुझाब दिनुभएको थियो।
सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले व्यावसायीहरूलाई मापदण्डहरू पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न सुझाब दिनुभयो। उहाँले व्यवसायीलाई अनिवार्य रूपमा व्यवसाय दर्ता गरी सञ्चालन गर्न साथै पसलमा मूल्यसूची राख्न समेत सुझाब दिनुभयो।
भरत विश्वकर्मा
