• ट्रेण्डिङ्ग :
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै


  • 2.5K
    SHARES
    • कार्तिक ९, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

    बागमती, ९ कात्तिक । मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् । 

    images

    मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष २०८०/८१ मा फेलापरेको कडा कुपोषित बालबालिकामध्ये ४९ प्रतिशत बालबालिका उपचारपछि निको भएका छन् । आव २०८०/८१ मा कडा कुपोषित एक सय ३३ बालबालिकामध्ये उपचारपछि ५९ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । कडा कुपोषितमध्ये नौ बाबालिकाका अभिभावकले आफूखुसी घर फर्काएर लगेको र बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ ।

    अघिल्लो आव २०७९/८० मा कुपोषित एक सय ३१ जना बालबालिकाको उपचार गरिएकामा ४८ प्रतिशत बालबालिका निको भएर घर फर्किएका थिए । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा २१ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र (ओटिसी सेन्टर) स्थापना गरेर उपचारात्मक तयारी खाना (पोषिलो खाना) कार्यक्रम सञ्चालन भइरहेको प्रमुख मिजारले बताउनुभयो । उहाँले मकवानपुरमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउनुभयो । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उहाँले बताउनुभयो ।
     
    पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । “जिल्लामा सञ्चालित २१ वटा ओटिसी सेन्टरमा जाँच हुन्छ, जाँचका क्रममा कडा कुपोषण भएका बालबालिकाको उपचार गर्ने गरेका छौँ”, प्रमुख मिजारले भन्नुभयो, “हेटौँडा अस्पताल परिसरभित्र स्थापना गरिएको पोषण पुनःस्थापना गृह (एनआर एच)मा बालबालिकालाई पोषणायुक्त खानासँगै उपचार हुन्छ ।” कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याएको उहाँको भनाई छ ।

    मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताउनुभयो । 

    आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बालबालिकाहरुको तौल गराउनेको सङ्ख्या बढेकाे जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाको सङ्ख्यासमेत कम भएको छ । आव २०७९/८० मा कम तौल भएको बालबालिका दुई प्रतिशत रहेकामा आव २०८०/८१ मा त्यो एक प्रतिशतमा झरेको छ । 


    तेस्रो आँखा