‘बिके’को छवि ‘पूर्ण बहादुरको सारङ्गी’ले ब्रेक गर्छ : विजय बराल

‘बिके’को छवि ‘पूर्ण बहादुरको सारङ्गी’ले ब्रेक गर्छ : विजय बराल


  • 4.7K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.2K Views

    ‘बिके’को छवि ‘पूर्ण बहादुरको सारङ्गी’ले ब्रेक गर्छ : विजय बराल

    काठमाडौं, १२ कात्तिक ।  सहायक भूमिकामा रुचाइएका कलाकार हुनुहुन्छ, विजय बराल । ‘कबड्डी’मा निभाएको ‘बिके’ चरित्रले उहाँलाई कलाकारितामा स्थापित गरेको थियो । यसपछि उहाँ ‘बिके’कै शैलीको चरित्रमा बढी देखिनुभयो । तर, यही कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा उहाँले भूइँमान्छेको चरित्र  बाँच्नुभएको छ । अर्थात् गन्धर्वको भूमिकामा हुनुन्छ । यसमा उहाँलाई तन्नेरी र बुढ्यौली दुई अवस्थामा देख्न सकिन्छ । टिजर र ट्रेलरमा उहाँको अभिनय मर्मस्पर्शी छ ।

    images

    विजयलाई ‘सारङ्गी’ले ‘बिके’को रुपमा बनेको आफ्नो छवि (इमेज) ब्रेक गर्छ भन्ने विश्वास छ । आइतबार काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘अब फरक चरित्रमा काम गर्न पाइन्छ भन्ने लागेको छ । तर, मलाई ‘बिके’ चरित्रले नै स्थापित गरेको हो । ‘बिके’ भएर ‘कबड्डी’का चार श्रृंखलामा काम गरेकै ८ वर्ष भएछ । लामो यात्रा गरेपछि एउटा ‘इमेज’ बन्ने रहेछ । त्यसलाई ‘पूर्ण बहादुरको सारङ्गी’ले ब्रेक गर्छ भन्ने विश्वास छ ।’

    झन्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका विजय सहायक भूमिकाबाट माथि उठ्नै सक्नुभएको थिएन । ‘पूर्ण बहादुरको सारङ्गी’ भने उहाँकै काँधमा छ । अर्थात् उहा नै फिल्मको हिरो हुनुन्छ । फिल्मको मूल कथा उहाँमै केन्द्रित छ । यसैले फिल्मबाट प्रस्ताव आउँदा उहाँले दुई साता निर्णय नै दिन सक्नुभएको थिएन । प्रमुख भूमिका भएकै कारण उहाँलाई एक किसिमको डर लागेको रहेछ ।

    ‘कथा सुनेपछि त मैले दुई हप्ता होल्ड नै गरेँ । लिड भनेर आउने वितिक्कै मलाई एक किसिमको डर भयो । साइडमा बसेर काम गर्न जति सहज हुन्छ, फ्रन्टलाइनमा बसेर गर्दा फरक हुन्छ । यसमा रिक्स र फाइदा दुवै छ,’ विजय भन्नुहुन्छ, ‘दुई हप्ता होल्ड गरेपछि मैले आफैंलाई आँट दिलाएँ । त्यसपछि काम गर्न तयार भएको थिएँ ।’


    मुख्य भूमिकाबाट प्रस्ताव आउँदा उहाँले व्यावसायिक पक्षलाई पनि सोचेनु भएको  रहेछ । कम्तीमा निर्माता सुरक्षित हुनुपर्छ भन्ने उहाँलाई लागेको थियो । भन्नुहुन्छ, ‘अरु फिल्म गर्दा अभिनय गर्ने मात्र मेरो काम हो भन्ने हुनुहुन्थ्याे । तर, यसमा यो बाहेक निर्माताले मलाई विश्वास गर्नुभएको छ, यसबाट उहाँहरुलाई राम्रो भयो भने अर्कोचोटी सहज हुन्छ भन्ने कुरा चाहिँ मेरो दिमागमा २५ प्रतिशत आएकै हो । ७५ प्रतिशत चाहिँ त्यो चरित्रमा कति न्याय गर्न सकिन्छ भनेर घोत्लिएको थिएँ ।’

    बलिउडमा हेर्ने हो भने सहायक भूमिकाबाट उदाएका धेरै कलाकारहरु मुख्य भूमिकामा देखिरहेका छन् । तर, नेपालमा यो अभ्यास कमै भएको छ । विजयलाई लाग्छ, यसमा मेकरले ‘रिक्स’ लिनुपर्छ । ‘मेकरहरुले एउटा सोचले हेरिरहनुभएको हुन्छ । दर्शकले पनि जसरी हेरिरहनुभएको हुन्छ, त्यही होस् भन्ने चाहनुहुन्छ । तर, मेकरले ‘रिक्स’ लिन सक्नु पर्छ । कलाकारले त जस्तो चरित्र दिए पनि गरिहाल्छन् । पहिला मेकरले ‘रिक्स’ लिनुपर्‍यो,’ उहाँले सुनाउनुभयो ।

    मेकरलाई विश्वास दिलाउने काम कलाकारको पनि हो भन्ने विजयलाई लाग्छ । भन्नुहुन्छ, ‘मेकरलाई विश्वास दिलाउने काम हाम्रो पनि हो । ‘दिमाग खराब’मा मैले गरेको ‘बले’ चरित्र पहिला के होला भन्ने थियो । गरिसकेपछि यसले गर्न सक्छ भन्नुभयो । यसैले हामीले पनि विश्वास दिलाउन सक्नुपर्छ । यद्यपि, साइड रोल गरिरहेका कलाकारहरु फ्रन्टलाइनमा आएर काम गर्न सक्ने धेरै छन् ।’

    विजयले ‘पूर्ण बहादुरको सारङ्गी’मा निभाएको चरित्र आफ्नो लागि एउटा राम्रो अवसर मान्नुभएको छ । चरित्रले कथाको सार बोक्नुपर्छ भन्ने मान्यता राख्ने उहाँले यसमा त्यो पाएका छन् । ‘फिल्ममा निभाएको चरित्रलाई लिएर उत्साहित छु । चरित्रले कथाको सार बोक्नुपर्छ भन्ने लाग्छ । यो कथाको सारभित्र बसिरहँदा चाहिँ पुस्तान्तरणसहितको रुपान्तरण हो यो फिल्म भन्ने लाग्छ,’ उहाँले कथासार प्रस्ट्याउँदै भन्छन्, ‘एउटा बाबुले छोराका लागि देखेको सपनाको कथा हो यो ।’

    विजयले चरित्र निर्माणका लागि सारङ्गी पनि सिकिसक्नु भएको छ । १० दिन शरीरको बस्ने पोजिसन, सारङ्गी बोक्ने शैली र हातको चाल सिकेको उहाँले स्मरण गर्नुभयो । सारङ्गी सिक्दा र गन्धर्वको चरित्र बाँच्दा उहाँले महसुस गरेका थिए, ‘गन्धर्वको जीवन कष्टकर नै छ ।’ फिल्ममा आफूले निभाएको चरित्रलाई पनि दुःखी मान्नुभएको छ । भन्नुहुन्छ, ‘दुःखी चरित्र भए पनि अगाडि बढ्नुपर्छ भन्ने सोच भएको पिता हुँ । बाउभित्रको द्वन्द्वात्मक चरित्र हो मेरो ।’


    तेस्रो आँखा