दाङ, १२ कात्तिक । सल्यानको कपुरकोटमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार धान र पराल बोकेको गाडी दुर्घटना हुँदा १४ वर्षीय गोवर्द्धन खड्का र १२ वर्षीय डिल्ली भनिने अनिल भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, १३ वर्षीया सृजना बस्नेतको उपचारका क्रममा कपुरकोटस्थित स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
तीनै जनाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल सल्यानतर्फ पठाइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । दुर्घटनामा परी १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीतसागर बस्नेत, १७ वर्षीय संजिव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत पुन, गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी र सहचालक १८ रोनक भण्डारी घाइते भएको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपाने बनाउनुभयो ।
त्यस्तै, घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि दाङको तुलसीपुर हुँदै बाँकेको लागि रिफर गरिएको छ। अन्यको भने कपुरकोटमै उपचार भइरहेको छ। बाँकेका लागि रिफर गरिएका तीन घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार रा १ ख २४०२ नम्बरको धान र पराल बोकेको ट्रक कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल बोकेर सिनवाङतर्फ जाँदै गर्दा पौने ६ बजेतिर झन्डै एक सय ५० मिटर तल खसेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
