काठमाडौं, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो तर अदालतले १० दिनको मात्रै दिएको हो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।
यस्तै यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
