डोटी २२ कात्तिक । डोटीको सुजङ्ग अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्यु पश्चात प्रहरीले तीन जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएको छ । दिपायल सिलगढी नगरपालिका–३ दिपायल निवासी लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएको थियो ।
बुधबार साँझ अप्रेसन गर्नका लागि अप्रेसन थ्रेटरमा राखी बेहोस गर्ने क्रममा औषधीको रियाक्सनले बालिकाको मृत्यु भएको आशंकामा ती चिकित्सकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । चिकित्सकहरू डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव प्रहरी नियन्त्रणमा लिएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुको कमजोरीका कारण बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएपछि उनीहरूलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिएको हो ।
