सिन्धुपाल्चोक, ९ मंसिर । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनु भएको छ । छ रोपनीमा ३० लगानी गरेर खेती सुरु गरेका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ ।
बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्हम्मे परेको उहाँले बताउनुभयो । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक १२ देखि १५ लाखसम्म कमाउन सकिने उहाँको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाब दिनुभएको हो ।
वर्षको दुई पटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु पाँच सयभन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि रु चार लाख सहयोग गरेको छ । एक पटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइ बाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उहाँ बताउँनुहुन्छ ।
