काठमाडौं ९ मंसिर । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन महानगर प्रहरीका इन्स्पेक्टर किशोरकुमार भट्टराई नेतृत्वको टोली पार्टी कार्यालय पुगेको थियो । एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगर प्रहरी बलको टोली फर्किएको छ ।
गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवानाको पत्र लेखेको थियो । महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।
