तुलसीपुर, ९ मंसिर । तुलसीपुर उपमहानगरपालिकामा ८ हजार बढी व्यवसाय दर्ता भएका छन् । उपमहानगरभित्र ३५ हजार बढी व्यवसाय भएता पनि ८ हजारले मात्र व्यवसाय तथा उद्योग दर्ता भएको उद्योग तथा उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । उहाँले दर्ता भएका व्यवसाय मध्ये ५० प्रतिशतले नवीकरण नगरेको बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा दशौं उद्योग स्थापना दिवसका अवसरमा आइतबार तुलसीपुरमा भएको अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो जानकारी दिनुभयो । स्थानीय स्तरमा उद्योगहरूको अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा विषयवस्तुबारे प्रकाश पार्दै शाखा प्रमुख शर्माले गत आव ०८०/८१ मा व्यवसायबाट विभिन्न शीर्षकमा सवा करोड बढि राजश्व संकलन गरेको बताउनु भयो । व्यवसायीहरूले व्यवसाय दर्ता नगरेको र दर्ता भएका व्यवसाय पनि नवीकरण नगरेकाले गत वर्षको तुलनामा चालु आवमा राजश्व संकलनमा कमी आउने उहाँले बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसीले उद्योगका लागि रोजगारी सिर्जना गर्न उद्योगकै महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले साना उद्योगहरुलाई पनि कसरी व्यवस्थित गरेर लैजाने भन्ने विषयमा स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको बताउनु भयो । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बस्नेतले व्यवसायिक प्रवर्द्धनका लागि अध्ययन र डाटावेस राख्न आवश्यक रहेको बताउनु भयो । तुलसीपुरमा व्यवसाय प्रवद्र्धनका लागि व्यवसाय कता जाँदैछ भन्ने विषयमा गहन अध्ययन र तथ्यांक बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । यसका लागि स्थानीय सरकार र व्यवसायीबीच सहकार्य हुन जरुरी रहेको उहाँको भनाइ थियो ।
त्यस्तै व्यवसायी ओमबहादुर वलीले तुलसीपुरमा नापतौलको जाँच गर्ने व्यवस्था नहुँदा व्यवसायीहरुलाई समस्या परेको बताउँदै यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । अहिले नापतौलको जाँचका लागि व्यवसायीलाई नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । तोकिएको समयमा जाँच नगराएमा जरिवानामा पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पालिकाले स्थानीय उद्योगहरुलाई प्रोत्साहन गर्नको निम्ति उद्योग ग्राम स्थापना गरेको बताउनु भयो । संरचना बनाएर व्यवसायमा नजोडिदासम्म र बजारको प्रवद्र्धन नगरेसम्म कर नलिने गरी औद्योगिक ग्राम क्षेत्रलाई उपलब्ध गराउने बताउनु भयो
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै नगर प्रमुख खड्काले कृषकहरूका लागि शीत भण्डार निर्माण गरि सुविधा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो । शहरको विकास भएपनि व्यावसायिक क्षेत्रमा अझै अव्यवस्थित रहेको बताउँदै व्यवसायलाई व्यवस्थित बनाउनका लागि उपमहानगर निरन्तर प्रयासमा रहेको बताउनुभयो ।
उहाँले उद्योगीहरूको सहजताका लागि औद्योगिक ग्राम परिसरमा तारबार, विद्युत र पानीको व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो । दर्ता तथा नवीकरण प्रक्रियालाई थप सजिलो बनाउन अनलाइन प्रणाली लागू गरिएको उल्लेख गर्दै मेयर खड्काले व्यवसायीहरूले घरमै बसेर यी प्रक्रिया पूरा गर्न सक्ने सुविधा रहेको स्पष्ट गर्नुभयो ।

बजार र उत्पादनको विश्वास नभएका कारण बैंकले ऋण उपलब्ध गराउँदा पनि ऋण लिने व्यक्ति नभएको उहाँले बताउनु भयो । यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने उहाँले बताउनु भयो । कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष खड्का, ग्रिल व्यवसायी दिपजंग क्षेत्री, जगत बहादुर वली, ओमबहादुर वली, छापा व्यवसायी पदम वली, नेपाल घरेलु तथा साना उद्योग महासंघ सहकोषाध्यक्ष बिमला शर्मा, लगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता वर्षा थापाले गर्नुभएको थियो ।
उदीराम चाैधरी
