दाङ २१ मंसिर । दाङमा चालु आर्थिक वर्षको चार महिनामा दुई सय बढी उद्योग व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार दुई महिनाको अवधिमा दुई सय ६३ उद्योग व्यवसाय बन्द भएका हुन् । बन्द हुनेमा एक सय नौ उद्योग र एक सय ५४ वटा व्यावसायिक फर्म रहेका छन् ।
कार्यालयका अनुसार कात्तिकमा उद्योग १७ र वाणिज्यतर्फ २५ वटा गरेर ४२ वटा, असोजमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३१ गरी ६१, भदौमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३७ गरी ६७ वटा र साउनमा उद्योगतर्फ ३२ र वाणिज्यतर्फ ६१ वटा गरेर ९३ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन् । उहाँका अनुसार बन्द हुनेमा अधिकांश व्यवसाय ऋण खानका लागि खोलिएका हुने गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा तीन सय ५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्म तीन सय ६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् ।
दर्ता हुनेमा उद्योगतर्फ एक सय ४२ र वाणिज्यतर्फ दुई सय २४ वटा रहेका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिकमा उद्योगतर्फ २४ र वाणिज्यतर्फ ३७ गरी ६१ वटा, असोजमा उद्योग २६ र वाणिज्यतर्फ ४२ गरी ६९ वटा, भदौमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ ५६ गरी ९७ वटा र साउनमा उद्योगतर्फ ५१ र वाणिज्यतर्फ ८८ गरी एक सय ३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् ।
