दाङ, २२ फागुन। काठमाडौं जाँदा नेवारी खाजा/खानाको ‘भोक’ मेट्नै पथ्र्यो। त्यसो त, थकाली, नेवारी खानाका पारखीहरुको ताँती छ नै। दाङका दुई युवा विप्लव थापा अनि समिर राना पनि उत्तिकै पारखी थिए। तर जिल्लामा यो भोक भेटिदैनथ्यो। कारण नेवारी खाना/खाजाको पर्याप्तता यहाँ थिएन। फलतः यी दुबै नेवारी खाजाका पारखीहरुले नेवारी खाजाकै लागि रेस्टुरेन्ट खोल्ने योजना बुन्न थाले। ‘तर रिस्क पनि थियो, नयाँ व्यवसायले सफलता पाउँछ कि पाउँदैन भन्ने चुनौती पनि हाम्रा लागि थियो,’ समिर भन्छन् ‘तथापी हिम्मत जुटाउने निर्णय गर्यौँ।’

दुई युवाले यो साहस बटुले अनि घोराही १५ मा संस्कृति नेवारी रेष्टुरेन्ट खोल्ने निर्णयमा पुगे। तर नेवारी खाजा बनाउनका लागि स्पेशल ‘कुक’ को व्यवस्थापन कसरी गर्ने ? उनीहरुका सामु अर्को चुनौती खडा भइदियो। उनीहरुका अनुसार अन्य खाना खाजाका परिकार पकाउनका लागि कुकहरु सहजै पाइने भएपनि थकाली र नेवारी परिकार बनाउने कुकको व्यवस्थापन निकै गाह्रो हुन्छ।
तथापी उनीहरुले जिल्लाकै एक व्यक्तिलाई काठमाडौं नेवारी रेस्टुरेन्टमा काम गर्न पठाए। ‘नेवारी खाजाको कुक सिक्नका लागि हामीहरुले यहीबाट एकजनालाई काठमाडौं पठायौँ,’ समिर भन्छन् ‘उहाँले सिकेर आएपछि अब रेस्टुरेन्ट खोल्नका लागि सक्षम भयौँ भन्ने महसुुस भयो।’
गत वैशाखदेखि उनीहरुले खाजाघर ‘संस्कृति नेवारी रेस्टुरेन्ट’ खोले। जुन खाजाघरमा विशेष रुपमा नेवारी खाजा तयार हुन थाले। रेस्टुरेन्ट खोले लगत्तै लकडाउन भयो। ‘हामीहरुले सुरु गरेलगत्तै लकडाउन भयो, हाम्रो व्यापारमा यो लकडाउनले प्रभाव पार्यो,’ अर्का सञ्चालक विप्लव थापा भन्छन् ‘तथापी हामीहरु निराश बनेनौँ ।’

कोरोनाका कारण लगाइएको लकडाउन सहज भएसँगै व्यवसाय पनि सहज उन्मुख बन्यो। अहिले व्यापारमा सन्तुष्टि प्राप्त भएको उनीहरु बताउँछन्। ‘अहिले व्यापार ठिक छ, नेवारी खाजा रुचाउने पारखीहरुका लागि हामी कहाँ ग्राहकहरु आइरहनु भएको छ,’ समिर भन्छन् ‘हामी सन्तुष्ट छौँ ।’
नेवारी खाजाका पर्याप्त परिकार पस्कने प्रयासमा छन् उनीहरु। अहिलेसम्म चटामरी परिकार अन्तर्गत सादा चटामरी, अण्डा चटामरी, मिक्स चटामरी पारखीका लागि उनीहरुले सेवा दिइरहेका छन्। यसैगरि बारा परिकार अन्तर्गत सादा, अण्डा र मिक्स परिकार उपलब्ध गराइरहेका छन्।
यस्तै नेवारी परिकार अन्तर्गतपर्ने चर्चित परिकार योमरीको भोजन पनि यो खाजाघरमा उपलब्ध भैरहेको छ। यस्तै छोयला, थिचुवा, खागो, जिब्रो, गिदीलगाएतका परिकार पनि उपलब्ध गराइरहेको विप्लव थापा बताउँछन्। यसका साथै नेवारी खाजासेटसमेत उपलब्ध गराइरहेको उनी बताउँछन्।

‘हामीले उपलब्ध गराउन सकेका अन्य केही परिकारहरु पनि उपलब्ध गराउन बाँकी नै छ,’ उनले भने ‘ग्राहकको माग पनि आइरहेको छ, ती परिकारहरुको उपलब्धताका लागि पनि तयारी गरिरहेका छौँ।’ नेवारी खाजाको परिकार उत्पादन गरेर व्यवसाय थालेका उनीहरुले यसलाई आफूहरुको संस्कृति प्रेमसमेत भन्ने गरेका छन्।
‘पुराना खाना खाजाका परिकार त्यसमा पनि नेपालमा निकै रुचाइने नेवारी समुदायको परिकार उत्पादन गर्नुलाई हामीहरुले व्यवसायसँग मात्रै जोडेका छैनौँ,’ समिर भन्छन् ‘यो संस्कृतिप्रतिको हाम्रो प्रेम पनि हो।’ खाजाको परिकार मात्रै हैन, खाजाघरमा गरिएको सजावट पनि नेवारी संस्कृतिकै छ।
विभिन्न नेवारी परिकार तयार पारेर ग्राहकहरुलाई नेवारी भोजनप्रतिको मोह पुरा गरिदिएका उनीहरुले सांस्कृति विषयलाई समेत महत्व दिएका छन्, यो खाजाघरमा ‘लाईभ संगित’ को समेत व्यवस्था मिलाएका छन्। ‘नेवारी खाजाको स्वाद सँगै लाईभ म्यूजिककोसमेत आनन्द लिने व्यवस्था हामीहरुले मिलाएका छौँ,’ विप्लव भन्छन् ‘अहिले नेवालरु खाजासँगै लाईभ म्यूजिकको आनन्द लिन खोज्ने ग्राहकहरुको मायाँ पाईरहेका छौँ ।’
