दाङ, ६ पुस । दाङको तुलसीपुर-५ जबरपुरमा माघ महोत्सव आयोजना हुने भएको छ । थारू समुदायको संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा सम्वर्द्धनका लागि माघ महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भूह्याँर थानको संयुक्त आयोजना तथा महटावा महासंघ तुलसीपुरकोे सहआयोजनामा माघ महोत्सव आयोजना हुने भएको हो ।
थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन कुमार थारु (धरकट्वा) ले परापूर्व कालदेखि रहिआएको थारुहरुको महत्वपूर्ण ऐतिहासिक संस्कार र संस्कृति संरक्षण गर्नको लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । "थारु भाषा, संस्कृति, भेषभुषा हमार पहिचान, संरक्षण सम्बर्द्धन ओ विकास कर्ना हमार अभियान" भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवका अवसरमा पुस २३ र २४ गते विशेष कार्यक्रमहरूको आयोजना गरिने छ । २३ गते धुमरु गीतको प्रस्तुति हुनेछ भने २४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ का सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।
तुलसीपुर-५ जबरपुरमा रहेको नमुना भूह्याँर थान संरक्षण समितिका अध्यक्ष रामशरण चौधरीले थारू समुदायको पहिचानसँग जोडिएको गीत, रीतिरिवाज, चालचलन र भाषाको संरक्षणका लागि महोत्सवको आयोजना गरिने बताउनुभयो । उहाँले पछिल्लो समय थारू समुदायको परम्परा र संस्कृति विस्तारै हराउँदै गएकोले त्यसको संरक्षण र सम्वर्द्धनका लागि यो महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।
यसैबिच महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । आर्थिक संकलन समितिमा इन्द्रजित थारु, नारायण चौधरी, आशा चौधरी, गणेश चौधरी, लोकजन चौधरी, श्रीराम चौधरी, श्रमलाल चौधरी, दिल्लु चौधरी र लाल बहादुर चौधरी रहनु भएको छ। पाहुना सत्कार समितिमा जिवराज चौधरी, बासुदेव चौधरी, शम्भु प्रसाद चौधरी, कमला चौधरी, जगधनी चौधरी र छोटिलाल थारु रहनु भएको छ। मञ्च व्यवस्थापन समितिमा अर्बिन चौधरी, कुमार चौधरी, शंकर चौधरी, नन्दलाल चौधरी र सुदर्शन चौधरी रहनु भएको छ ।
यसैगरी, सांस्कृतिक व्यवस्थापनमा मोहन चौधरी, मन कुमारी चौधरी, सुनिता चौधरी र अनिता चौधरी त्यस्तै प्रचार-प्रसार समितिमा सरीता चौधरी, उदिराम चौधरी, हिरालाल चौधरी र सन्दिप चौधरी र भान्सा व्यवस्थापन समितिमा विष्णु चौधरी, राम कुमारी चौधरी र जंग बहादुर चौधरी रहनु भएको छ भने स्वयंसेवकमा सत्यनारायण चौधरी र गोपिलाल चौधरी रहनुभएको छ ।
