तुलसीपुर, ८ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी प्रवित्रा नेपाली (बादी)ले आफ्नो बुवा बाजेले गर्दै आएको पख्र्यौली मादल बनाउने पेशा गर्दै आउनु भएको छ । उहाँले विगत १६ वर्षदेखि यो पेशामा दत्तचित्त भएर लाग्नु भएको छ । पहिले घर बनाउने काम गर्ने उहाँले अहिले भने मादल बनाउँदै बेच्दै गरेर मनग्य आम्दानी गर्दै आउनु भएको छ । बादीले मादल बेचेर वार्षिक रुपमा ४ लाख बढी आम्दानी गर्दै आएको तेस्रो आँखालाई जानकारी दिनुभयो ।
४७ बर्षिया वादी र उहाँका छोराले पुख्र्यौली मादल बनाउने पेशालाई पछ्याउँदै व्यवसायिक रुपमा लाग्नु भएको छ । सुरुमा आफ्नै घरबाट मादल बनाउने काम सिकेर व्यवसाय सुरु गर्नुभएकी बादीले ४ वर्षदेखि कोठा भाडामा लिएर व्यवसाय गर्दै आउनु भएको छ ।
बादीले मादल बनाउने व्यवसायमा लाग्नु भन्दा पहिले घर बनाउने काम गर्दै आउनु भएको थियो । पहिले त मैले घर बनाउने काम गर्थे“,उहाँले भन्नुभयो, मैले लेवर काम गर्ने ठाउँ नजिकै छिमेकीहरुले पनि मादल बनाउने काम गर्नुहुन्थ्यो, मैले पहिले घरमा सिकेको सिप छिमेकीहरुलाई देखेर थप कुरा सिकेको हुँ । मादल कसरी बनाउँदा रहेछन् भनेर हेर्दै जाँदा आफुले पनि मादल बनाउन सिकेको उहाँले तेस्रो आँखालाई बताउनु भयो । मादल बनाउने सीप सिक्न कम्तीमा ६ महिनादेखि १ बर्षसम्मको समय लाग्ने गरेको बादीले जानकारी दिनुभयो ।
पवित्राका बुवा लालसिंह नेपाली (बादी) ले पनि पहिलेदेखि नै मादल बनाउने काम गर्नुहुन्थ्यो । म मादल बनाउने परिवार, समुदायमा जन्मिए, त्यसैले मलाई यो व्यवसाय सञ्चालन गर्न सहज भयो, उहाँले भन्नुभयो । “मेरो भाइले पनि मादल बनाउथ्यो, उहाँले भन्नुभयो, भाइले बनाउन लागेको हेरेर आफ्नै दिमाग लगाएर मादल बनाउन सिके“,“अर्काको काम गर्नु भन्दा सानै भए पनि आफ्नै व्यवसाय गर्नुको आनन्द नै बेग्लै हुँदोरहेछ । १ वर्षको अवधिमा डेढसय वटासम्म मादल बनाउने गरेको नेपालीले बताउनुभयो । उहाँका अनुसार एउटा मादल ३ हजारदेखि १८ हजारसम्मा बिक्रि हुन्छ ।
बादीका अनुसार मादल बनाउनका लागि आवश्यक पर्ने बाख्राको छाला मुस्लिम समुदायसँग किनेर ल्याउने गरेको तेस्रो आँखालाई जानकारी दिनुभयो । त्यसैगरी बलियो एवं आकर्षक र मेसिनबाट पेलेको छाला भने पोखरादेखि किनेर ल्याउने गरेको बादीले बताउनुभयो । मादल बेचेर“खाना पुगेको छ, बाहिर गएर अर्को काम गर्नु पर्दैन“,उहाँले भन्नुभयो,“मादल बनाएर बेचेको पैसाले घर खर्च चलाउने र मादल बनाउने समान किनेर ल्याउने गरेका छौं ।
बादी समुदायको मादल बनाउने पेशा संकटमा परेको भन्ने कुरा बाहिर आइरहँदा पवित्राले भने मादल बनाए पछि बिक्री हुँदैन भन्ने डर नभएको बताउनुभयो । “ग्राहकहरु मादलको (अडर) दिन घरमै आउँनुहुन्छ, कसैले पसलबाटै किन्नुहुन्छ“, उहाँले भन्नुभयो, मैले दुईवटा पसलमा मादल बनाएर पठाउने गरेको छु, मादल बनायौं भन्ने बिक्री हुदैन कि भन्ने त्रास छैन । एउटा पसलबाट मादलको अडर हुँदा एक पटकमा ६० देखि ७० हजारसम्मको हुने गरेको उहाँको भनाई छ । उहाँले मादल बाहेक टेम्पु, नंगारा, घोल लगायतका समानहरु बनाउदै आउनु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मादल बनाउनका लागि काठ र मेसिन उपलब्ध गराएकाले व्यवासायलाई चलायमान बनाउन केही सहज भएको उहाँको भनाई छ । तर खोजे अनुसारको काठहरु बनबाट ल्याउन नपाउँदा समस्या भएको उहाँको भनाई छ । “अहिले मादल बनाएर वर्षदिनलाई खान पुगेको छ, मादल बनाउने स्रोत साधनहरु किनुपर्छ,“, उहाँले भन्नुभयो “सरकारबाट आएको कतिपय बजेट फिर्ता जान्छ, त्यो बजेट फिर्ता बठाउनु भन्दा हामीलाई मादल बनाउने काठ उपलब्ध गराईदिए राम्रो हुन्थ्यो । सरकारले काठ मात्र उपलब्ध गराई दिएपनि हाम्रो व्यवसाय फस्टाउन सक्थ्यो, उहाँले भन्नुभयो-निर्माण भएका मादलहरुलाई बाहिर पठाउन पनि सहज हुने थियो । साथै उहाँले आफुहरुले बनाएका मादल बजारिकरणका लागि सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो ।
रुपा थापा
