सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिने : मन्त्री पौडेल

सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिने : मन्त्री पौडेल


  • 3.3K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.1K Views

    सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिने : मन्त्री पौडेल

    नेपालगञ्ज, ८ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताउनु भएको छ ।

    images

    भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ ।’

    सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ ।’

    मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।

    बीमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बीमालाई योगदानमा आधारित बनाउन लागिएको बताउनु भएको छ । सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उहाँले उल्लेख गर्नुभयो ।

    बर्दियाको बारबर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिनु भएको थियो ।

    कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारु लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राख्नु भएको थियो ।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिं प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बीमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन् ।


    तेस्रो आँखा