• ट्रेण्डिङ्ग :
‘वसन्त’ले मबाट धेरै कुरा खोसेको छ : प्रकाश सपूत

‘वसन्त’ले मबाट धेरै कुरा खोसेको छ : प्रकाश सपूत


  • 5.1K
    SHARES
    • पौष २२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 7.8K Views

    ‘वसन्त’ले मबाट धेरै कुरा खोसेको छ : प्रकाश सपूत

    काठमाडौं, २२ पुस । गायनबाट फिल्म अभिनयमा आएका धेरैको करिअर सुखद् बन्न सकेन । तर, प्रकाश सपूत अपवाद बन्नुभएको छ । गत वर्ष आएको उहाँको डेब्यु फिल्म ‘परदेशी २’ सुपरहिट बन्यो । हाल प्रदर्शनरत उहाँ अभिनीत दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त व्यापारमा कीर्तिमानी नै बनाएको छ । अब धेरैको प्रतीक्षा उहाँ निर्देशित भएको पहिलो फिल्म ‘वसन्त’लाई लिएर छ, जुन चैत २२ गते रिलिज हुँदैछ ।

    images

    यो फिल्मको निर्माणका कारण उहाँले एक वर्षदेखि नयाँ गीत निकाल्नु भएको छ। देश तथा विदेशका कार्यक्रममा समेत सहभागी हुनुभएको छैनन् । यसैले उहाँलाई लाग्छ, आफूबाट ‘वसन्त’ले धेरै कुरा खोसेको छ । आइतबार साँझ उहाँले फेसबुकमा फिल्मको एउटा पोस्टर सेअर गर्दै यो फिल्मले संगीतबाट कमाएको साथीभाई, स्टेजदेखि भोकनिन्द्रा सबै खोसेको उल्लेख गर्नुभएको छ ।

    ‘सारङ्गी’को प्रदर्शनमा समय दिन नपाएको प्रसंग समेत निकाल्दै उहाँले स्टाटसमा लेख्नुभएको छ, ‘सबैभन्दा महत्वपूर्ण योजना विपरित बीचमा एउटा चलचित्रको प्रदर्शनमा मैले समय दिन नपाएपछि केही शुभेच्छुकहरुको नजरबाट मेरो इमान खोसेको छ । यसबाहेक भोक खोसेको छ । निद्रा खोसेको छ र मभित्रको एक शान्त मानिस खोसेको छ । तर, एकबारको जुनीमा आफ्नै सपनाको यो हद छोएकोमा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘वसन्त’मार्फत नै समयले खोसिएका सबै फेरि फिर्ता दिनेछ ।’

    प्रकाशले ‘वसन्त’मा आफूभित्रका सबै रंगहरु पोखेको र आफ्नो प्रतिभाको दायरा यति नै रहेको जनाउनु भएको छ । उहाँले लेख्नुहुन्छ, ‘यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ । यसो भनौ, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति ।’

    प्रकाशले स्टाटसमा पोखेका भावनाले ‘वसन्त’प्रति उहाँको अपेक्षा र आत्मविश्वास बोल्छ । फिल्ममा उहाँ स्वयं मुख्य भूमिकामा छन् भने उहाँको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रकाशले फेसबुकमा सेअर गरेको पोस्टरमा उहाँ स्वयं बत्तिको उज्यालोमुनि किताब पल्टाएर खुसी भावमा देखिनु भएको छ । यसले फिल्ममा उहाँको पात्रलाई अध्ययनप्रति रुचि रहेको दर्शाउँछ ।

     


    तेस्रो आँखा