बाँकेकाे एक सहकारीले ५० हजारमा बेच्यो सरकारी जग्गा  (अडियाेसहित)

बाँकेकाे एक सहकारीले ५० हजारमा बेच्यो सरकारी जग्गा  (अडियाेसहित)


  • 10.7K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.5K Views

    बाँकेकाे एक सहकारीले ५० हजारमा बेच्यो सरकारी जग्गा  (अडियाेसहित)

    काठमाडाैं, २६ फागुन। बाँकेको कुसुम स्थित सरकारी जग्गा एक सहकारीले बिक्री गरेको छ। तर सरकारी जग्गानै बिक्री गरेपछि विवाद निम्तियो। अहिले उक्त जग्गा पुनः फिर्ता भएको छ। यो जग्गा सहकारीका केही सिमित पदाधिकारीहरुले व्यक्तिलाई बिक्री गरेका थिए। कुसम ‘बैरिया’ मा केही वर्ष अघि महिलाहरुको बचत समूह थियो। उनीहरु व्यक्तिको घरमा बैठक, छलफल गर्दै आएका थिए। बैरियामै रहेको ऐलानी जग्गा आफूहरुलाई दिलाइदिन समाजमा माग गरे। समाजले सहमति दियो। अनि सरकारी जग्गामा सानो छाप्रो हाले र जग्गा रोके। अहिले त्यही बचत समूह सामाजिक उद्यमी महिला सहकारी संस्था बनेको छ।

    images

    ‘सुरुमा हामीहरुले त्यो खाली रहेको जग्गामा महिला समूहको भवन बनाउने भनेर जग्गा रोक्यौँ,’ यो सहकारीका अध्यक्ष टिका बुढाथोकीले तेस्रो आँखासंग भनिन् ‘सानो टहरो बनाएर जग्गा रोकेका थियौँ।’ बुढाथोकीकाअनुसार उक्त छाप्रो जिर्ण बन्दै गयो, र ढल्यो। अनि यसैको मौका स्थानीय जनक खड्काले छोपे। उनले त्यही सहकारीका लागि भनेर रोकिएको जग्गामा घर बनाउन थाले। ‘हामीले सहकारीका लागि भनेर जुुन जग्गा रोकेका थियौँ, त्यही जग्गामा जनक खड्काले घर बनाउनका लागि खाँबा गाड्नु भयो,’ सहकारीका अध्यक्ष बुढाथोकीले भनिन् ‘हामीहरुले चर्को विरोध पनि गर्यौँ।’

    बुढाथोकीले त आफूहरुले घरका खाँबा फालिदिएकोसमेत बताइन्। तर जनकले स्थानीयहरुसँग छलफल गरे, अनि सहकारीका लागि रोकिएको सरकारी जग्गामा आफ्नो घर बनाई छाडे। ‘गाउँ समाजको कुरा हो, गाउँ समाजमा कुरो मिलेपछि उहाँले घर बनाउनु भयो,’ बुढाथोकीले भनिन् ‘उहाँले घर बनाएपछि हाम्रो लागि भनेर रोकेको जग्गा अब पछाडी झण्डै चार धुर जती मात्रै बचेको थियो।’

    सहकारीका लागि भवन निर्माणका लागि वडा कार्यालयबाट बजेट दिइने आश्वासन आयो। अनि भवन निर्माणका लागि बजेट आउने भएपछि सहकारीका पदाधिकारीहरु उक्त चार धुर जग्गालाई उपभोग गर्ने निर्णयमा पुगे। तर पहिलो पटक सहकारीको नाममा रोकिएको जग्गा कब्जा गरिदिएका जनकका छोरा त्यही जग्गा कब्जामा उत्रिए। जनकका छोरा छबीलालले उक्त सरकारी जग्गामा पक्की घरको गारा उठाईसकेका थिए। जनकले भने ‘त्यो जग्गामा मैले हैन, छोरा छबीलालले घर बनाउन थालेको हो।’ 

    यो विषयमा जनकका छोरा छबीलालसँगसँग सम्पर्क गर्न खोज्यौँ । जनकले एक स्थानीय व्यक्तिलाई नक्कली छोरा बनाएर कुरा गराए। स्थानीय एक व्यक्तिलाई नक्कली छोरा खडा गरेर फोनमा उनै जनकले कुरा गर्न लगाए।  आफूनै जनकको छोरा भनेर कुरा गरेका ती व्यक्तिले उक्त जग्गा सहकारीको पनि नभएको र आफूहरुले नै पहिलेदेखि भोगचलन गर्दै आएकाले घर बनाउन सुरु गरेको दाबी नै गरे। ‘त्यो जग्गा सहकारीको हो भन्ने कुनै लिखित प्रमाण छैन,’ छबीलालले भने ‘हामीहरुले लामो समयदेखि भोग चलन गर्दै आएकाले मैले उक्त जग्गामा घर बनाउन सुरु गरेको हुँ।’

    सुनाैं जनक र उनका नक्कली छाेरा बनेर तेस्राे आँखासँग गरिएकाे कुराकानी :

    यता वडाबाट भवन निर्माणका लागि आउने बजेटले कसरी, कहा घर निर्माण गर्ने भन्ने चिन्तामा सहकारीका पदाधिकारीहरु थिए। अनि जनकका छोरा छबीलालले घर बनाउन थालेको जग्गा खाली गराएरै सोही जग्गामा घर बनाउने निर्णयमा सहकारीका पदाधिकारीहरु पुगे। ‘जहाँ जनक खड्काका छोराले घर बनाउँदै हुनुुहुन्थ्यो, त्यही जग्गा खाली गराएर सहकारीको भवन बनाउने भन्ने निर्णयमा हामीहरु पुग्यौँ,’ सहकारीका अध्यक्ष बुढाथोकीले भनिन्।

    उक्त जग्गामा घर नबनाउन जनक र उनका छोरा छबीलाललाई सहकारीले सचेत गरायो। अनि जनक ती पदाधिकारीहरुलाई जसरी पनि सहमतीमा ल्याउने तयारीमा लागे। अनि सहकारीका पदाधिकारीसंग प्रस्ताव गरे ‘मिलेर जाऔँ।’ उक्त जग्गाका बारे दुई पक्षबीच छलफल गर्ने सहमति भयो। जग्गा कब्जा गरेका जनक अनि सहकारीका ५ पदाधिकारीहरु बसेर विवाद समाधान गर्ने बारेमा छलफल भयो। छलफल टुंगियो ‘५० हजार रुपैयाँमा।’ सरकारी जग्गा आफ्ना लागि भन्दै रोकेको सहकारीले उक्त जग्गा ५० हजार रुपैयाँमा जनकलाई बिक्री गर्न राजी भयो।

    सहकारीकाअनुसार जनकले आफ्नो छोराले घर निर्माण गर्दा खर्च गरिसकेकाले उक्त जग्गाबारे विवाद नगरिदिन सहकारीका पदाधिकारीहरुसँग अनुरोध गरे। बरु पुर्जावाल जमिनको लागत मूल्य सहकारीलाई उपलब्ध गराउने सर्त जनकले राखे। अनि उक्त झण्डै चार धुर जग्गाको मोलमोलाई भयो ‘५० हजार रुपैयाँ।’

    यसैमा सहमती भयो अनि जनकले उक्त जग्गा आफ्नो बनाउनका लागि ५० हजार रुपैयाँ सहकारीका पदाधिकारीहरुलाई दिए। ‘उहाँ (जनक) ले जग्गाको मूल्य गरौँ भनेर भन्नु भयो, तर म यसबारेमा केही पनि बोलिन,’ अध्यक्ष बुढाथोकीले भनिन् ‘अनि हाम्रा पदाधिकारी महिलाहरुले ५० हजार ठिक छ भनेर ओके गरिदिनु भयो, अनि म किन विरोधी बन्ने त भनेर म केही पनि बोलिन।’ 
    अध्यक्ष बुढाथोकीकाअनुसार ५० हजार रुपैयाँमा यो जग्गा कारोबार भएको सहमती लिखित रुपमा भने हैन। ५० हजार आफूहरुले लिएको स्वीकार गरेकी बुढाथोकीले यो रकममा जग्गा दिएको भन्ने बिषय सहकारीका सबै सदस्यहरुका सामु राख्ने आफ्नो निर्णय रहेको सुनाइन्।

    सुनाैँ जग्गा बिक्री गर्ने सहकारीका अध्यक्ष बुढाथाेकीसँग गरिएकाे कुराकानी :

    ‘हामीले त्यो ५० हजार बुझ्दा पनि भोलि सहकारीका सबै महिला दिदी बहिनीहरुले मान्नु हुन्छ कि हुन्न,छलफल गर्छौँ भनेर भनेका थियौँ,’ उनले भनिन् ‘यदी महिला दिदी बहिनिहरुले मान्नु भएन भने ५० हजार रुपैयाँ फिर्ता हुन्छ, त्यो बेला भने हामीलाई जग्गानै चाहिन्छ भनेर जनक दाईलाई भनेका थियौँ।’ केही पदाधिकारीहरु मिलेर ५० हजारमा जग्गा दिलाएको बारे सहकारीमा छलफल भएन। बुढाथोकीले भनिन् ‘हामीहरुले चाँडै छलफल गर्ने भनेर भनेका पनि थियौँ, तर कहिले कसको समय नमिल्ने, कहिले कसको फूर्सद नहुने भएकाले छलफल गर्न पनि ढिला भयो, अनि हामीहरुलाई चाहीँ ५० हजारमा गुपचुपमा जग्गा बिक्री गरेको भन्ने आरोप लाग्न सुरु भयो।’  

    कतिसम्म भने यो जग्गा कारोबारको सम्झौताका साक्षी जनप्रतिनिधिसमेत थिए। वडा सदस्य रुद्रमणी ढकालको रोहबरमा ५० हजारमा जग्गाको कारोबार सल्टिएको थियो। तर ति वडा सदस्य ढकालले भने मौखिक रुपमा मात्रै भएको सहमतीमा बस्नुलाई रोहबर भन्न नमिल्ने बताउँछन्। ‘रोहबर भनेको लिखित सहमति हुने बेलामा बसिएकोलाई भनिन्छ,’ उनले भने ‘मौखिक छलफलका क्रममा म बसेको हुँ, तर त्यसलाई रोबहर भन्दैनन्।’ त्यसो त, उनले उक्त जग्गाको कारोबारमा आफ्र उपस्थित नै नभएको भनेर पञ्छिन खोज्दै थिए। अन्ततः उनले आफू छलफलमा रहेको स्वीकारे। आफ्नै रोहबरमा जग्गाको कारोबार मिलेपछि वडा सदस्य ढकालले ५० हजार रुपैयाँमा जग्गा कारोबार भएको विषयबारे भने अनभिज्ञता जनाइरहेका थिए। तर उनकै सहमतिमै जग्गाको कारोबार टुंगिएको विषयलाई उनले पनि धेरै बेर लुकाउन सकेनन्। ‘त्यो बेला मौखिक कुराकानी भएको हो,’ वडा सदस्य ढकालले भने ‘जग्गाको विवाद धेरै नबढाउने भनेर टुंग्याउने कुराकानी भएको हो।’ त्यसो त, ढकालले यो विवादलाई जग्गाको कारोबारबाटै सल्ट्याईनु पर्नेमा जोड दिएका थिए। उनले थपे ‘जनक खड्काले घरको गारा पनि माथिसममै उठाईसकेका छन्, अब धेरै विवाद गर्नु पनि हुन्न, तपाईंहरु सहमति गरेर अगाडि बढ्नुस् भनेर मैले सहकारीका पदाधिकारीहरुलाई भनेको हुँ।’ उनकाअनुसार पदाधिकारीले नै उनलाई छलफलमा बोलाएका थिए र उनी सहभागी भएका थिए।

    सुनाैं जग्गाकाे काराेबार मिलाइदिन साक्षी बसेका वडा सदस्य ढकालसँग गरिएकाे कुराकानी:

    ५० हजार रुपैयाँ जग्गा कारोबार भएको घटना सार्वजनिक भएपछि सहकारीभित्र चर्काे विवाद चल्यो। अनि उक्त जग्गा सहकारीकै रहने गरि लिखित निर्णयनै भएको छ। जनकले उक्त जग्गामा घर बनाउँदा लागेको लागत पनि नपाउने भन्ने सहमति छ। तर जनकले भने घर बनाउँदा लागेको लागत रकम फिर्ता दिनुपर्ने बताएका थिए। ‘हामीहरुले लिएको ५० हजार रुपैयाँ फिर्ता दियौँ र अब त्यो जग्गा हाम्रो हुने भन्ने सहमति भएको छ,’ अध्यक्ष बुढाथोकीले भनिन् ‘अनाहकमा हामीहरुलाई जग्गा बिक्री गरेको भनेर बदनाम गरियो।’ यता जग्गा कारोबारमा सहजीकरण गरिदिएका वडा सदस्य ढकालले पनि जग्गा सहकारीको रहने र त्यहाँ घर बनाउँदा लागेको लागत रकम सहकारीले नदिने लिखित सहमतिनै भएको बताए। ‘जग्गा सहकारीको रहने र उक्त जग्गामा जनकले घर बनाउँदा लागेको लागत जनकले नपाउने भन्ने कागजी निर्णयनै भएको छ,’ ढकालले भने ‘अब यो जग्गा विवाद कागजी रुपमै सल्टिएको छ।’ 
     

     


    तेस्रो आँखा