म यस्तो गीत गाउँछु २ ले दर्शकको अधिक मन जित्न सक्यो। कथावस्तुलाई औधी रुचाएका दर्शकहरु देशका हरेक सिनेमा हलहरुमा खचाखचनै भरिए। दर्शकहरु अधिक मन जित्न सकेको यो चलचित्रको सफलतासंग पल प्रकरणलाई जोडेर प्रचारबाजी पनि गरिएको छ। यो चलचित्रका नायक पल शाह बलात्कार मुद्धामा प्रहरी थुनामा रहेका पल शाहप्रतिको दर्शकको सेन्टिमेन्ट पकडेर निर्माता तथा नायिका पूजा शर्माले फिल्म चलाएको भनेर व्यापक चर्चा चलाइएको पनि छ। यो आरोप र चलचित्रका बारे तेस्रो आँखाकर्मी देवेन्द्र बस्नेतले निर्माता तथा नायिका शर्मासँग कुराकानी गरेका छन्।
म यस्तो गीत गाउँछु २ को प्रोमोशनका लागि तपाईको देश दौडाहा कस्तो भयो ?
नेपालगञ्जबाट हिजो मात्रै काठमाडौं पुगेँ, पोखरा, चितवन, हेटौँडा, नेपालगन्ज पुगेँ। दर्शकहरुको प्रतिक्रिया अझ भनौ दर्शकहरुको बोलावटका कारण नै हामीहरु धेरै ठाउँमा पुगेका हौँ, खासगरि नेपालगन्ज हाम्रो जाने प्लान नै थिएन, फिल्मको राम्रो प्रतिक्रिया आएपछि हामीहरुलाई नेपालगन्जबाट बोलाउनु भयो र हामी गएका हौँ। चितवनमा पनि त्यस्तै राम्रो भएपछि हामीहरुलाई बोलाइयो र हामी गयौँ। हामीहरुलाई दर्शकहरुबाट राम्रो प्रतिक्रिया आइृुकेपछि हलबाट नै बोलाइयो र हामी पुग्यौँ। अनि यति लामो समयको हलको बन्दाबन्दीकाबीचमा पनि सिनेमा लगाएको र राम्रो व्यापार भएको भन्दै हामीहरुलाई हलबाट धन्यवाद पनि दिनुभयो। यसर्थ हामी आफै जानु भन्दा पनि हामीहरुलाई बोलाइएपछि हामी गएका हौँ। फेरि अडियन्सबाट नै माग भएपछि जानु परिहाल्छ नि।
दर्शकको प्रतिक्रिया कस्तो रह्यो ?
अब कसैलाई त्यही चिज धेरै राम्रो लाग्छ भने अर्कोलाई त्यही चिज नराम्रो पनि लाग्न सक्छ। मान्छेको सोच धारण फरक-फरक हुन्छ नि त ! तर साझा सबैको कुरालाई मनन गर्ने हो। धेरै दर्शकहरु फिल्म हेरेर रोएर फर्कनु भएको छ। मनछुने फिल्म भएर नै दर्शकको आँखाबाट आँशु आएको हो नै। समग्रमा भन्दा ९० प्रतिशत माया पाएका छौँ। हामीले यो फिल्मबाट धेरै माया पायौँ।
कोरोना महामारीको बन्दाबन्दीकाबीच फिल्म हलमा लैजानु चुनौती थिएन ?
हो, यहाँले भने जस्तै मेरा लागि त यो ठूलो परीक्षा नै थियो। कोरोना महामारीकोबीच पनि एक दुई फिल्महरु आए , तर सोचे जस्तो ती फिल्महरु चलेनन्। तर मलाई चाहीँ के थियो भने दर्शकहरु मेरो फिल्मलाई माया गर्नुुहुन्छ की हुन्न, त्यसमाथि म यो फिल्मको निर्माता पनि आफै हो। यसर्थ मेरा लागि निकै ठूलो चुनौती थियो। तर पनि मैले त्यो सहास जगाएँ, यो चुनौतीलाई सहजै चिर्न सकिन्छ भन्ने हिम्मत लिएँ। दर्शकहरुलाई मैले कसरी फिल्मबाट राम्रो चिज दिन सक्ने, अनि कसरी दर्शकको माया पाउने भनेर मैले ठूलो होमवर्क पनि गरेँ। अनि फिल्मको प्रमोशनका लागि विभिन्न उपायहरु अपनायौँ। विभिन्न भाषामा यो फिल्मको प्रमोशनका लागि गीतहरु पनि तयार गर्यौँ। तर यो भन्दा अगाडि हामीले यस्तो कहिल्यै गरेका पनि थिएनौँ। यही प्रमोशनकै लागि गीतहरु तयार गर्दा पनि हाम्रो खर्च बढ्यो। तर पनि हामीहरुले यी कुनै पनि चीजमा कम्प्राेमाइज गरेनौँ। दर्शकको अपेक्षालाई कसरी पूर्ति गर्ने भन्नेमा हामीहरु निरन्तर लागि रह्यौँ। हामीहरुले अथक मेहनत गर्यौँ, र हाम्रो मेहेनतलाई दर्शकहरुले माया गरिदिनुभयो, साथ दिँदै जानुभयो।
देश दौडाहमा निस्केर दर्शकसँगै बसेर फिल्म हेर्दा यो फिल्मका नायक पल शाहको अभाव महसुस भयो कि भएन , तपाईंलाई अनि दर्शकलाई ?
दर्शकहरुले पलको धेरै अभाव फिल गर्नुभयो। उहाँहरुले मलाई हरेक ठाउँमा पल खोई ? भनेर पनि सोध्नुभयो। अनि म आफैले झन त्यो अभाव महसुस गर्ने कुरै भएन। त्यसो त, मलाई काम पनि डबल भयो, पल नहुँदा। पल भैदिएको भए उ र म दर्शकसँग सँगै बसेर फिल्म हेथ्र्यौँ, दर्शकसँगको त्यो साक्षात्कार कति प्रिय हुन्थ्यो होला। अनि पल भैदिएको भए मलाई आधा टेन्सन कम पनि हुन्थ्यो होला। म सँग पल पनि छैन। मैले सबै कुराहरुको एक्लै म्यानेज गर्नु परिरह्यो। तर पनि म निरास बनेन्। म अलिकति पनि निराश भैदिएको भए , घमण्डी रहिछ भनेर मलाई ट्याग लागिहाल्थ्यो। हामीहरु २४ सै घण्टा हाँसिरहनु पर्छ, किनकी निराश हुनासाथ घमण्डी भयो भनेर आरोप लागिहाल्ने। पल भैदिएको भए कामको शेयरिङ गरेर सँगै प्रमोशनका लागि हिँड्ने थियौँ। म यस्तो गीत गााउँछु १ मा सँगै हिँडेको हो नि हामी। यसर्थ म पलविना पूर्ण हुन पाइँन। आधामै सिमित भएँ। जति म खुसी हुनुपर्ने, पलविना हुन पाएँन।
आँसु बेचेर फिल्म चलाको भन्ने आरोप पनि लाग्यो तपाईं माथी है ?
मेरो फिल्म रिलिज हुनु भन्दा दिन अगाडि अब तिम्रो फिल्म गयो, सकियो भनेर मलाई यही इंडस्ट्रीका मान्छेहरुले भनेका हुन्। पलको प्रकरणका लागि तिमी अब डुब्यौ भनेर मलाई भनियो। मलाई यो खालको निराशा जगाउने खालका कुराहरु आउँदा पनि मैले हिम्मत चाहिँ हारेको थिएन। फिल्म प्रिमियर गर्न म रेडी थिएँ, र हामी हिँड्यौँ। डिस्ट्रीब्यूटर्सहरुमा भने त्यस्तो कन्फ्यूज थिएन। तथापी मलाई धेरै गाह्रो भएको थियो, किनकी मेरो फिल्म डुब्ने खतराका सुझावहरु आउँदा मलाई कस्तो भयो होला। पलले पुजाको फिल्म डुबायो भन्दिने, पलका कारण पुजा डुब्यो भन्दिनेहरु पनि थिए के ? तर पनि मैले यस्ता कुराहरुलाई त्यती महत्व दिएन, किन दिएन भने मलाई दर्शकहरुप्रति भर थियो। दर्शकहरुलाई त्यो पर्सनल कुरासँग सरोकार हुने कुरा हुँदैन नि। कलाकाहरुले फिल्म कस्तो दियो भन्ने कुराको चासो दर्शकहरुलाई हुने हो नि!
फिल्म रिलिजको पहिलो बिहानी शो मै म सन्तुष्ट भएँ, की दर्शकहरु फिल्म हेर्नका लागि त्यती लालायित देखिनु भएको थियो। अनि मलाई चाहीँ त्यो बेला के फिल भयो भने दर्शकहरुले यति लामो समयको अन्तराल पछि राम्रो फिल्म हेर्न चाहनु भएको रहेछ भन्ने लाग्यो। त्यसपछि फिल्म राम्रो चल्यो। फिल्म चलिसकेपछि पल काण्डले चल्यो भनिदिए। मैले गरेको मेहनत, फिल्म क्षेत्रमा मेरो लगानी, मेरो मेहनतले फिल्म चलेको देखिएन, तर त्यही काण्डकै कारण चलेको भनेर भन्नु को अर्थ कसरी हुन्छ यीनीहरुलाई डाउन गरौँ भन्ने सोँचले काम गरेको हो। हैन, भने यही प्रकरणकै कारण फिल्म हलमा जानु भन्दा अगाडि किन फिल्म डुब्यो, पलका कारण पूजा सकिई भनेर किन भनिएको त? हिजो त्यो विश्लेषण गर्नेहरुले आज त्यही पलकै कारण फिल्म चल्यो भनेर कसरी भन्न सक्या भन्या के ? तर म यसबाट पनि निराश छैन। मैले त यसलाई के भन्छु भने म सफल भएको हुँ। म असफल भएको भए अहिले विचरा भनेर मलाई उडाइरहेका हुन्थे नि। यसर्थ अहिले फिल्म चल्यो, अनि उनीहरुले आफ्नो मन शान्त पार्नलाई पल प्रकरणका कारण फिल्म चलेको भनेर भनेको हो। तैपनि मलाई यसले केही पनि फरक पार्दैन।
यो फिल्मको सफलताले तत्कालै अर्को फिल्म जन्माउँछ ?
छैन, अहिले त्यस्तो कुनै योजना छैन। यो फिल्मको ह्याङओभर सकिएको पनि छैन। अहिलेकै फिल्म हलमा लागिरहेकै पनि छ। यसको ह्याङओभर सकिएपछि के गर्ने भन्ने सोच्ने कुरा हुन्छ। तर अहिले नै अर्को नयाँ प्रोजेक्टकाबारेमा कुनै योजना बनिसकेको छैन।
दर्शकको माया पाएको फिल्मको आर्थिक संकलनको पाटो पनि मजबुतै बन्यो होला हैन ?
अहिलेसम्म फिल्मले के कति आर्थिक संकलन गर्यो भन्ने मलाई भन्दा पनि वितरकहरुलाई थाहा हुन्छ। अहिलेसम्म म उहाँहरुसँग बसिसकेको छैन। एकिन जानकारी मलाई प्राप्त भैसकेको त छैन, तर समग्रमा यो पाटो पनि राम्रो नै भयो भन्दा हुन्छ।
