तुलसीपुर, २० माघ । तुलसीपुर उपमहानगरपालिकामा ११ हजार ३ सय ३९ जना किशोरीलाई एचपि.भी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा महिला पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन तथा व्यवस्थापनको बिषयको अन्तरक्रिया कार्यक्रममा एच.पि.भी खाेप सम्बन्धि जानकारी गराएको थियोे ।
"पुर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता" भन्ने मुल नाराका साथ राष्ट्रिय खोप कार्यक्रम एच.पि.भी खोप अभियान २०८१ सुरु हुने भएको छ । जनस्वास्थ्य निरिक्षक बिमल केसीले एच.पी.भी खोपको बारेमा जानकारी गराउदै एच.पि.भी खोप माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने समयअबधि रहेको बताउनुभयो । साथै कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने १० बर्षदेखि १५ बर्षसम्म किशोरीहरुलाई यो खोप दिइने उहाँको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका भानु जोशीले नेपाल सरकारले स्वास्थ रणनीतिमा हरेक क्षेत्रका नागरिकहरुको स्वास्थ्य स्वस्थ बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । साथै उहाँले एचपिभी खोपको महत्व, पाठेघरको मुखको क्यान्सरको अवस्था, रोकथाम तथा बच्ने उपाय, नेपालमा यसको अवस्था, विश्वमा यसको अवस्था, यसका लक्ष्यणहरु र यो सम्बन्धि नेपाल सरकारले गरेका प्राबधानको जानकारी गराउनु भएको थियोे ।
जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले गरिबीको रेखामुनी रहेका किशोरीहरूलाई मुख्य प्राथमिकतामा राख्दै नेपाल सरकारले यो खोपको सुरुवात गरेको बताउनु भएको हो । विद्यालय बाहिर रहेका, विद्यालय जान नसक्ने किशोरीहरु खोजि खाजि यो खोप लगाउने उहाँको भनाइ छ ।
आइतबार तुलसीपुर उपमहानगरपालिकाकाे सभाहलमा पत्रकार, सरोकारवाला तथा खोप समन्वय समितिहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख ओम प्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमको सहजिकरण जनस्वास्थ्य निरिक्षक बिमल केसीले गर्नुभएको थियोे ।
