घोराही । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशकै समुन्नत प्रतिष्ठान बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिष्ठानको आधारभूत विज्ञान प्रयोगशाला भवनको आइतवार उद्घाटन गर्दै देउवाले यस क्षेत्रकै नमूना स्वास्थ्य प्रतिष्ठान भएकाले यसलाई समुन्नत बनाउनुपर्ने बताउनुभएको हो । ‘यस क्षेत्रका लागि नमूनायोग्य सेवा दिइरहेको छ’ देउवाले भन्नुभयो ‘अझै यसको सेवालाई थप गर्नका लागि प्रधानमन्त्रीसँग कुरा गर्छु उहाँ पनि सकारात्मक हुनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’ साथै उहाँ प्रतिष्ठानलाई तत्काल चार सय सैयाको बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘देशमा नर्सको अभाव भइरहेको बेला यहाँ नर्सिङ पढाई शुरु भएको रहेछ’ देउवाले भन्नुभयो ‘यसमा मलाई खुसी लाग्यो ।’ ‘एमबीबीएस र एमडीसम्मको पढाई सुरु गर्ने तयारी भइरहेकाले त्यो पनि तत्काल सुरु गर्नुपर्छ’ देउवाले भन्नुभयो ।
दुई करोड बढी लागतमा बनेको आधारभूत विज्ञान प्रयोगशाला भवनबाट विद्यार्थीहरुको प्रयोगात्मक कक्षा सञ्चालन हुदै आएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभयो ।
