हेटौंडा, २९ माघ । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ कमाउँदै आउनु भएको छ । उहाँले यही पेसाबाट आत्मनिर्भर बन्दै आउनु भएको हो । उहाँको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ ।
खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मील सञ्चालन गर्नुहुन्थ्यो। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उहाँले बताउनुभयो ।
खुवाको हब बन्दै गएको सोही स्थानमा व्यवसाय सम्हाल्न पुगेका उहाँले आजभोलि दैनिक ३० किलो खुवा बिक्री गर्दै आउनु भएको छ। उहाँको पसलमा खुवासँगै विभिन्न मिठाइका परिकार, केराको मःम, छोइला, पुष्टकारीहरु उत्पादनसँगै बिक्री हुनेगर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका श्रेष्ठले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानी समेत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘खुवाका लागि भैँसीको दूध आवश्यक पर्छ । सोहीअनुरूप किसानलाई दस लाख रुपैंयाँ लगानी गरिसकेको छु ।’ परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उहाँले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहनु भएको छ ।
खुवा पेसा सम्हालेदेखि उहाँले आफ्नो व्यवसायबाट ६ जनालाई रोजगारी दिएकोसमेत बताउनुभयो । खुवासँगै खाजा नास्तालगायतबाट मासिक दस लाख रुपैंयाँको कारोबार हुने गरेको श्रेष्ठले बताउनु भस्एको छ ।
मासिक दूध, खुवा पकाउने दाउरा खरिद, कर्मचारीलगायतमा मासिक साढे आठ लाख खर्च हुने पनि बताउनुभयो । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उहाँको भनाइ छ । आफूसँगै परिवारको पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताउनुभयो ।
खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उहाँले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवनलगायतका जिल्लामा निर्यात हुने बताउनुभयो ।
कान्ति लोकपथ भएर हिँडने यात्री र खुवाका पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आकर्षण गर्ने गरेको छ । खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।
