• ट्रेण्डिङ्ग :
घोराही-तुलसीपुर सडकको फोरलेन विस्तारका लागि झण्डै चार अर्बको ठेक्का आह्वान

घोराही-तुलसीपुर सडकको फोरलेन विस्तारका लागि झण्डै चार अर्बको ठेक्का आह्वान


  • 5.0K
    SHARES
    • फाल्गुण १, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 7.7K Views

    घोराही-तुलसीपुर सडकको फोरलेन विस्तारका लागि झण्डै चार अर्बको ठेक्का आह्वान

    तुलसीपुर, १ फागुन । भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भएर पनि अलपत्र परेको घोराही–तुलसीपुर सडकको फोरलेन विस्तारका लागि नेपाल सरकारले नयाँ ठेक्का आह्वान गरेको छ।

    images

    सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन अर्ब ९९ करोड रुपैयाँको ठेक्का आह्वान गरेको हो। यस अघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।

    स्थलगत सर्वेक्षण र लागत अनुमानको फाइल सडक विभागबाट स्वीकृत भएपछि आज ठेक्का आह्वान गरिएको जानकारी निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीले दिनुभयो । ठेक्कामा आवेदन दिने अवधि ३० दिन तोकिएको छ, र त्यसपछि अन्य प्रक्रिया अघि बढ्ने इन्जिनियर बाराहीले बताउनु भएको हो ।

    सडक विभागका अनुसार, घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१ किलोमिटरको सडक चार लेनमा विस्तार हुनेछ। यस सडकको चौडाइ ३० मिटर हुनेछ र कालोपत्रे मोटाइ १० सेन्टिमिटर राखिने छ, जसमा अक्सपाल प्रविधिको पिच प्रयोग हुनेछ। निर्माणको कुल अवधि ३६ महिनाको रहने छ।

    सडक स्तरोन्नति प्रक्रियामा विद्युत् पोल स्थानान्तरण र रुख कटान लगायतका कार्य पनि समावेश गरिएको छ। यी कार्यहरू पनि ठेक्का रकममा समावेश गरिएको छ र विद्युत् कार्यालयले प्राविधिक उपलब्ध गराएर निगरानी राख्दै पोल स्थानान्तरण गरिने छ।

    यस अघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा सडक स्तरोन्नति गर्ने योजना थियो, जसको लम्बाइ २८ किलोमिटर थियो। तर निर्माण कम्पनीको लापरवाहीका कारण सडकको काम ढिलो भएको थियो। अहिले भने नेपालको आर्थिक बजेट र शंकर पोखरेलको पहलमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले पुनः काम अघि बढाउने व्यवस्था गरेको छ। गणेश आचार्य


    तेस्रो आँखा