तुलसीपुर, ७ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ । आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ ।
आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन् । उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए ।
महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । हरेक दिन दर्शकको भीड बढ्दै गएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवद्र्धनमा टेवा पुर्याएको छ ।
आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन् ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताउनुभयो ।
महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् । मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताउनुभयो ।
