• ट्रेण्डिङ्ग :
कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, करिब १० अर्ब रूपियाँ लागत अनुमान

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, करिब १० अर्ब रूपियाँ लागत अनुमान


  • 3.0K
    SHARES
    • कार्तिक १, २०८२ शुक्रबार
    • ११ महिना अघि
    • 4.7K Views

    कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, करिब १० अर्ब रूपियाँ लागत अनुमान

    काठमाडौँ, असोज ३१ गते । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा निर्माणाधीन कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलमैदानका रूपमा विकास गर्न गुरुयोजना स्वीकृत गरेको छ ।

    images

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान भएकाले यसको आधुनिकीकरण र विस्तारले देशको खेलकुद, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानमा उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो ।

    “रङ्गशालाको विकास नेपालका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न रङ्गशाला आवश्यक भएकाले गुरुयोजना अनुसार स्रोत सुनिश्चित गरी निर्माण अघि बढाउने निर्णय गरिएको हो,” मन्त्री घिसिङले बताउनुभयो ।

    उनका अनुसार मन्त्रिपरिषद्ले गुरुयोजना बमोजिम जग्गा सम्बन्धी सम्झौता गर्न, वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लाई अन्तिम रूप दिन र दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया सुरु गर्न स्वीकृति प्रदान गरेको छ ।

    केही दिनअघि मन्त्री घिसिङ स्वयं कीर्तिपुरस्थित रङ्गशालाको निर्माणस्थल पुगेका थिए । स्थलगत निरीक्षणपछि उहाँले निर्माण कार्यलाई गुरुयोजना अनुसार राष्ट्रिय प्राथमिकतामा राखी बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।

    त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट सङ्घ (क्यान)बीचको कीर्तिपुर क्रिकेट मैदान प्रयोगसम्बन्धी जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिँदैछ ।

    यस सन्दर्भमा मन्त्रिपरिषद्ले त्रिवि र युवा तथा खेलकुद मन्त्रालय/राष्ट्रिय खेलकुद परिषद्बीच आवश्यक सम्झौता गर्न निर्देशन दिएको छ, जसअनुसार रङ्गशालाको जग्गा दीर्घकालीन रूपमा खेल प्रयोजनका लागि सुरक्षित हुनेछ ।

    हाल रङ्गशालाको पहिलो चरणअन्तर्गतका संरचना निर्माणाधीन छन् । मन्त्रालयका अनुसार आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) अगावै रङ्गशालाको निर्माण कार्य सक्ने लक्ष्यका साथ काम तीव्रगतिमा भइरहेको छ ।

     


    तेस्रो आँखा