सुलीकोट (गोरखा), भदौ २० गते । नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गर्नुभएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका विभिन्न भूभागमा बाढी, पहिरो तथा डुबानबाट ठुलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै देवकोटाले विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो।
देवकोटाले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, विपदमा परी घाइते तथा प्रभावित भएका सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्नुभएको छ।
विपद्को कठिन समयमा राज्य र नागरिक दुवैको साझा जिम्मेवारी हुने उल्लेख गर्दै उहाँले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भई कष्टकर जीवन बिताउन बाध्य नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभएको छ।
उहाँले आफ्नो सहयोगले विपदमा परेका पीडितको दुःखमा केही राहत पुग्ने र उनीहरूलाई पुनः सामान्य जीवनमा फर्किन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।
देवकोटाले विपद्को घडीमा देशवासी, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा सहयोगी मन भएका सबै महानुभावलाई आ–आफ्नो स्थानबाट उद्धार, राहत तथा पुनर्निर्माणका कार्यमा सक्दो सहयोग गर्न अपिलसमेत गर्नुभएको छ।
गोरखाको पालुङटार नगरपालिका–२ स्थायी घर भएका देवकोटाको सहयोग विपद्का बेला राज्यलाई साथ दिने निजी क्षेत्र तथा नागरिकस्तरको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा देखिएको छ।
