काठमाडाैं, २० चैत्र। कुनै बेला नेपाली सिने क्षेत्रमा ‘सुपरस्टार’ नायिका बनेर एकछत्र राज गरेकी नायिका करिस्मा मानन्धरको चर्चाबीचको केही अवधि कम बन्यो। सिने क्षेत्रमा उदयमान नायिकाहरुको ‘जवरजस्त’ प्रवेशले करिस्माको ‘चाम’ लाई कमजोर बनाइदियो। भलै करिस्माको बढ्दो उमेरले पनि उनको एकछत्र राजलाई तोडिदिएको हो, नै।
सिने क्षेत्रमा कमजोर उपस्थिति देखिएपनि ‘चर्चा’ बाट भने उनी पछि परिनन्। सिने क्षेत्रमा गुम्दै गएको चर्चालाई नायिका करिस्माले राजनीतिमा पुन स्थापित गरिदिईन्। बाबुराम भट्राई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीको नेतृ बनेर राजनीतिक मार्गमा पाईला चालेकी करिस्माको चर्चा अहिले एमाले बृत्तमा चुलिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सामिप्यतामा रही अहिले एमालेको देश दौडाहमा सकृय करिस्मामाथि एमाले जगतमा सुपरस्टारको ट्याग लाग्छ या लागदैन, त्यो भने हेर्न बाँकी नै छ। तर करिस्माको अहिलेको सक्रियता र दौडधुपले भने सिने क्षेत्रमा स्थापित सुपरस्टारको ट्याग जस्तै एमाले जगतमा पनि सुपरस्टार नेतृ बन्ने ‘करिस्मा सपना’ लाई प्रष्ट पारिदिएको छ।
तथापी एमालेभित्रका दिग्गज सुपुरस्टारहरुले करिस्मालाई त्यो ओजमा कायम हुन देलान् ? यो उनका लागि ठूलो प्रश्न हो। आफ्नो न्वारानको नामलाई एमालेको चुनाव चिन्हसँगै मेल खुवाएकी करिस्माको एमाले मोहलाई कम आकलन गर्न त सकिन्न। उनले एक कार्यक्रममा भनेकी थिईन् ‘मेरो न्वारानको नाम सुर्यकुमारी हो।’ एमालेको चुनाव चिन्हकै नाम सुर्यकुमारी हो भन्दै आफ्नो न्वारानको नाम सार्वजनिक गरेकी करिस्माको यो प्रस्तुतीलाई उच्च ‘कलाकारीता’ का रुपमा अहिले विश्लेषण भैरहेको पनि छ। अनि आफ्नै पार्टीका पदाधिकारी नेताहरुको ओहदा थाहै नपाएर भाषण गर्नुले करिस्माको राजनीतिक ज्ञानमाथि पनि प्रश्न उठाउने ठाउँ दिएको छ।
ओलीको एक कलले ‘सुर्यकुमारी’
करिस्मा मानन्धर उर्फ सुर्यकुमारीले गत भदौ ३० गते देखि भएको कक्षा १२ को परीक्षामा सहभागी भएकी थिइन् । कक्षा १२ को परीक्षा आउनुभन्दा अगाडि नै उनी कक्षा १२ को परीक्षाको तयारीमा करिस्मा भनेर सामाजिक सञ्जालमा चर्चित हुन पुगिन् । नेपाली चलचित्र क्षेत्रमा अभिनय गरेको तीन दशक पछि उनले कक्षा १२ को परीक्षा दिएकी थिइन् । फिल्मसँगै व्यापारमा समेत सक्रिय भएकी करिस्माले व्यापारको जिम्मा छोरीलाई दिँदै परीक्षाको तयारीमा लागेको विषयले पनि राम्रै चर्चा पाएको थियो ।
परिक्षाकै क्रममा झण्डै रातीको दश बजे पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोन आउँछ। उनका अनुसार ओलीले चलिरहेको कक्षा १२ को परीक्षाको शुभकामना दिन करिस्मालाई फोन गरेका हुन्छन्। सोही बेलुका उनले १० बजेर १४ मिनेटको हाराहारीमा आफ्नो फेसबुकमा केपी ओलीको फोन आएको तर आफूलाई मजाक लागेको तर वास्तवमै ओलीको फोन भएको भन्दै पोष्ट गरेकी थिइन्। ओलीले ढुंगाको कथा सुनाएको, परीक्षाको शुभकामना दिएको देख्दा विश्वास नलागेको पनि उनले उल्लेख गरेकी थिइन्। सद्भाव र मायाको दूरी मेटाउन सामान्य कलाकारलाई सम्झिएको भन्दै उनले ओलीलाई धन्यवाद दिएका थिइन्।
मानविकी संकायमा ललितपुर गोदावरी नगरपालिका टौखेलस्थित किटिनी कलेजमा पढेकी करिस्माले परीक्षा सकेसी मानविकी सजिलो लागेको बताएकी थिइन्। त्यसपछि कक्षा १२ को परीक्षामा २.४१ जिपिए ल्याएर पास भएपछि उनको पुनःचर्चा भयो । अझ उनले दुईवटा विषयमा ए प्लस समेत ल्याएकी थिइन् ।
लामो समय अमेरिका बसेर नेपाल फर्किएकी मानन्धर सुरुमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालमा आवद्ध भएकी थिइन्। उनले केही समय नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य रहेर गरिन्। जुन समयमा पनि उनी निकै चर्चाको शिखरमा रहेकी थिइन्। तर त्यसको केही समयपछि उनले राजनीति छोडेर पूरा नभएको विद्यालय शिक्षा आर्जन गर्न लागिन्। कक्षा १० देखि आफ्नो पढाई निरन्तर अगाडि बढाएकी उनले हाल कक्षा १२ उतिर्ण गरिसकेकी छन्।
गत ४ कात्तिकमा ओली निवास बालकोटमै पुगेर करिस्मा मानन्धरले ओलीसँग प्रत्यक्ष भेट गरेकी थिइन्। उनी एमाले नेत्री कोमल ओली र हास्यकलाकार जितु नेपालको सहजीकणमा त्यहाँ गएकी थिइन्। भेटका क्रममा ओलीबाट धेरै राजनीतिक तथा समसामयिक विषयका कुराहरु सिक्ने अवसर पाएको मानन्धरले बताएकी थिइन्। ओलीले गरेको फोनदेखि ओलीप्रति झुकाव राखेकी उनले विशेषत ओलीको प्रभावको कारणले एमालेसम्म जोडिन पुगिन्। हाल उनी एमालेमा सक्रिय भएर लागिरहेकी छन्। आफू नयाँ भएर पनि एमालेले स्थान दिएको भन्दै उनले खुसी व्यक्त गरेकी छन् भने एमाले महिलालाई स्थान दिने पार्टी भएको दाबी पनि गरेकी छन्।
पदम भुजेल
