बागलुङ, असोज १९ गते । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट बागलुङमा सबैभन्दा बढी पूर्वाधारमा क्षति पुगेको छ। बाढीपहिरोबाट जिल्लामा करोडौँ रुपियाँ बराबरको क्षति भएको अनुमान गरिए पनि यकिन तथ्याङ्क आउन बाँकी छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जिल्लाका सबै कार्यालयबाट आफ्नो कार्यक्षेत्रमा भएको क्षतिको विवरण माग गरिएको बताउनुभयो। सबै कार्यालयबाट पूर्ण विवरण प्राप्त नभएकाले क्षतिको यकिन तथ्याङ्क आउन बाँकी रहेको उहाँले बताउनुभयो।
संघीय सांसद सोम शर्मासहित जिल्लास्थित कार्यालयका प्रमुखसँग भएको छलफलमा विपदबाट भएको क्षतिबारे जानकारी गराइएको थियो।
बाढीपहिरोबाट सबैभन्दा धेरै क्षति पूर्वाधारमा भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो। “बागलुङका मुख्य तथा सहायक सडक नभत्किएको र नबगेको ठाउँ कतै बाँकी छैन,” उहाँले भन्नुभयो, “सबै पालिका, वडा अध्यक्ष र प्राविधिक खटिएका छन्। उनीहरूले विवरण ल्याएपछि क्षतिको यकिन तथ्याङ्क खुल्ने छ।” टेलिफोन तथा सडक सम्पर्क टुट्दा क्षतिको विवरण सङ्कलनमा समस्या भएको उहाँको भनाइ छ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरिप्रसाद शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि घोडाबाँधे हुँदै गलकोट खण्ड तथा बुर्तिवाङदेखि पातीहाल्नेसम्मको क्षेत्रमा धेरै क्षति पुगेको बताउनुभयो। निसीखोला गाउँपालिका–३ झिँवाखोला र वडा नं. ४ को कानाबगर क्षेत्रमा सडक बगरमा परिणत भएकाले तत्काल पुनर्निर्माणका लागि ३० करोड रुपियाँ र दीर्घकालीन रूपमा सडक स्तरोन्नति तथा निर्माणका लागि ८० करोड रुपियाँभन्दा बढी लाग्ने प्रारम्भिक सर्वेक्षणबाट देखिएको शर्माले बताउनुभयो।
पहिलो चरणमा सडक सञ्चालनमा ल्याउने र त्यसपछि स्तरीय बनाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो। पक्की पुलमा पुगेको क्षतिको पुनर्निर्माणको कामसमेत भइरहेको शर्माले जानकारी दिनुभयो।
पूर्वाधार विकास कार्यालयले गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकमा ठूलो क्षति पुगेकाले सडक पुनर्निर्माण गर्न लामो समय लाग्ने जनाएको छ। यद्यपि, अस्थायी रूपमा दसैँअघि नै सडक सञ्चालनमा ल्याउने योजना रहेको कार्यालयले जनाएको छ। बिहुँको रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र अर्गलस्थित भातखाने डाँडासम्म जाने सडक भने अझै सञ्चालनमा आउन सकेको छैन।
“हामीले नियमित रूपमा चार वटा डोजर लगाएर सहिद मार्ग खुलाउने प्रयास गरेका थियौँ। एउटा बिग्रिएपछि अहिले तीन वटाले मात्रै काम गरिरहेका छन्,” गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले भन्नुभयो। गलकोटदेखि हिल हुँदै ताराखोला जाने सडक तत्काल निर्माण गर्न कठिन हुने भएपछि सहिद मार्गको विकल्प खोजिएको अध्यक्ष विकले बताउनुभयो।
नेपाली सेनाको विस्फोटक टोलीले सडकको उक्त खण्डको अध्ययन गरिसकेको छ। पहरा फुटाएर मात्र सडक सञ्चालन गर्न सकिने भएकाले सेनाले सम्भाव्यता अध्ययन गरिरहेको हो।
बाढीका कारण ताराखोलाका तीन वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। निसीखोलामा पनि लघुजलविद्युत् आयोजना बगेको छ। पहिरोका कारण दर्जनभन्दा बढी सिँचाइ योजनामा क्षति पुगेको छ। नहर पुनर्निर्माण हुन नसके कृषि उत्पादनमा असर पर्ने निसीखोला–४ का वडा अध्यक्ष टिकानिधि पौडेलले बताउनुभयो।
