काठमाडौँ, कात्तिक २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गर्नुभएको छ । “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ । यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।”
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन भोलि बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अघ्र्य दिइने परम्परा प्रधानमन्त्रीले सन्देशमा स्मरण गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् तथा भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् भन्ने कामना गर्नुभएको छ ।
शुभकामना सन्देशको अन्त्यमा प्रधानमन्त्रीले मैथिली भाषामा समेत भन्नुभएको छ, “छैठके बहुत रास शुभकामना १ दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।” रासस
