काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकाल्दै मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ ।
हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे ।
खेलको ४१ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रस बारमा लागेर फर्किदा हिमालयन शेर्पा अग्रता बनाउन चुकेको थियो । खेलको ५६ औं मिनेटमा मनाङले विमल रानाले गोल गरेका थिए । तर, अफसाइड रहदा उनको गोलले मान्यता पाएन ।
हिमालयनका फरवार्ड मुटुम्बाले ७१ औं मिनेटमा आशिष गुरुङको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल आकाशिएको थियो । खेलको ८४ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुको फ्लिक हेडर पासमा ओलावालेले गोल गरे ।
जुन गोल खेलको निर्णायक गोल बन्यो । त्यसअघि मनाङका दिपक राईले ८३ औं मिनेटमा निशानकै क्रसमा प्रहार गरेको हेडर बल हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाएका थिए । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो ।
हिमालयनको यो पहिलो हार हो । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । खेलको म्यान अफ दि म्याच मनाङका पुजन उपरकोटी चुनिए ।
