काठमाडाैं,२७ चैत्र । अहिले नेपालको अर्थतन्त्र ओरालो अवस्थामा छ । आर्थिक अवस्था भयावह हुन लागेको अर्थविज्ञहरुले बताइरहेकोबेला नेपाल सरकारले यसको उचित व्यवस्थापनमा खासै चासो दिएको देखिदैन । नेपालको अर्थतन्त्र ओरालो लाग्नुको प्रमुख कारण सत्ता सञ्चालनसँग जोडिन्छ । खासगरी २०४६ सालपछि शासन सत्ता चलाउने दल र नेताहरु आफ्नो देश हितभन्दा बिदेश हितमा परिचालित भएको पाइन्छ ।
देशको उद्योगधन्दा,कलकारखाना,कृषियोग्यभुमी,कृषिअनुसन्धान केन्द्र तथा प्राविधिक शिक्षालयहरु मास्ने, बिद्रोहको नाममा नागरिकलाई गाउँ गाउँबाट असुरक्षित बनाई जग्गा जमिन बांझो छाडेर शहर तथा शदरमुकाम पस्न बाध्य पार्ने कामहरु भए । यीनै कारणले देशको आर्थिक अवस्था दिन प्रतिदिन संकउन्मुख हुँदै गएको छ ।अर्को कारण नागरिकमा चेतनाहिनता,बिलासी र देखासिखिको रुपमा जीवनशैलीमा व्यापक परिवर्नत आएको पाइन्छ । यो पनि अर्थतन्त्र खस्कनुको अर्को महत्वपूर्ण कारण बनेको छ । सामाजिक रितिरिवाज र संस्कारमा व्यापक परिवर्तन आएको छ ।
छरछिमेक, समाज एकजुट भएर बारीको पाटामा बनाई तुल्याई सालको टपरीमा खाने, भोज भतेर गर्ने चलन विस्तारै हटिसकेको छ । त्यस्ता भोजभतेरहरु अहिले तारे होटल र पार्टी प्यालेसहरुमा बिदेशी परिकार, निर्मित खानेकुराहरु, लगायत महंगा रक्सीमा परिणत भएको छ । आफ्नो करेसा बारीमा सागसब्जि, करेला,स्कुस,घिरौंला र पर्वल समेत नरोप्ने तर छिमेकी भारततिरबाट आएको किनेर खाने अनि लगाउने कपडा,जुत्ता र चप्पल समेत बिदेशी लगाउने तर स्वदेशी उत्पादित ती वस्तुहरु प्रयोगमा ईज्जत जाने मानसिकता पनि अर्थतन्त्र व्यवस्थापनका लागि उत्तिकै घातक हुदै आएको छ ।
नेपालमा भएको बनजंगल क्रमश सकिंदै जानुका साथै भएको राम्रा र बलिया काठहरु पनि दल र नेताकै आडमा बाहिर तस्करी हुने भएकोले घर बनाउँदा आवश्यक काठ तथा फर्निचर समेत मलेसिया थाईलैण्ड लगायतका मुलुकहरुबाट आयात गरिंदै आएको छ । स्वदेशमा भएको फलाम र तामा खानीहरु प्रयोगमा ल्याउन समेत सकेको छैन । २०४९ सालभन्दा अघि तराईमा उत्पादित धान,गहुं,तोरी र दलहन। तेलहनबालीहरु लगाउन छाडिएको छ । पहाडमा उत्पादित मकै, भटमास, बोडि, अदुवा, बेसार र अलैंची बिदेश निर्यात गरिन्थ्यो भने अहिले यी सबै बस्तु बिदेशबाट स्वदेश आयात गरिन्छ ।
पहाडी तथा उच्च भागहरुमा उत्पादन हुने बस्तुहरु फापर,कोदो र आलुलाई खाद्य परिकार बनाईदैन। बिदेशबाट आउने प्याकिङ बोराको चामल, दाल, तेल, बिस्कुट र चक्लेट प्रयोग हुन्छ । गाउँघरमा खाना पकाउने दाउरा प्रशस्त हुँदा हुँदै ग्याँस अत्यनधिक प्रयोग भईरहेको छ । अहिले सवारी साधनहरु बिशेषगरी कार तथा मोटरसाईकलहरु आवश्यकता भन्दा पनि शहरदेखि गाउँसम्म सके परिवारका सदस्य पिच्छे नसके घरैपिच्छे देखासिखि र सानमानको लागि ज्यादा प्रयोग भएको छ । जुन साधनहरु नेपालमा त बन्दैनन नै तीनका पार्टपुर्जा ईन्धन समेत बाहिरबाटै ल्याउनु पर्ने बाध्यता हाम्रो समु छ ।
स्वदेशमा उत्पादित बिजुली स्वदेशमै खपत योजना नबनाई बाहिर बेच्ने योजना ल्याउनु अनि भारतबाट महंगोमा करिब ५४० मेघावाट मुजफ्फरपुर– ढल्केवर प्रसारण लाइन हुँदै भित्राउनु पनि हाम्रो मुलुकको लागि हितकर छैन् । यति सानो मुलुकमा जो छिमेकी मुलुक भारतको एउटा प्रान्तीय राज्य बराबर छ तरपनि यहाँ करीब ५ हजार भिआईपिहरुलाई राज्यबाट सुबिधा उपलब्ध छ । त्यसैगरी ७ प्रदेश,८ राष्ट्रपति,८ प्रधानमन्त्री ,८८५ मन्त्री तथा सांसद,करिब ३५ हजार स्थानीय जनप्रतिनिधिहरुलाई समेत तलब भत्ता,सवारी ,ईन्धन तथा बिबिध सुविधा उपलब्ध गराईएको छ ।
यस्तो परिस्थितिमा देशको आर्थिक अवस्था कसरी सुध्रन्छ ? त्यतिले मात्र नपुगेर निजामति र प्रहरीमा स्वार्थअनुकुल उच्च पदहरुको संख्या बढेको बढ्यै मात्र छैन सयौंको संख्यामा संबैधानिक आयोगहरु थपिनु र राजनितिक शक्तिकै आडमा विभिन्न मन्त्रालयहरुबाट दलका नेता कार्यकर्ताहरुले सवारी तथा ईन्धन सुविधा प्राप्त गर्नु जस्ता काम भईरहेको छन । अहिले रोजगारको लागि बिदेशीएका ५० लाख भन्दा बढी युवाले पठाएको रेमिटान्स र नागरिकको ढाड सेक्नेगरी बढाईएको करबाट मुलुक धान्न नसक्ने अवस्थामा पुगेको छ ।
उल्लेखित घटनाले निकट भविश्यमा श्रीलंकाको नियति नेपालले पनि भोग्न पर्ने अवस्था नजिक भईरंदा नेपालको भबिश्य कता जान्छ भन्ने चिन्ता नागरिकमा राज्य सञ्चालकलाई छैन् । यसको हेक्का आम नागरिकले गर्नुपर्ने अवस्था आइसकेको छ तर नागरिकहरु समेत दलहरुको मुल्यहिन,गन्तब्यहिन र दिशाहिन राजनितिको पछि लागेर झोले बन्नु पनि मुलुकको बिडम्बनाको बिषय हो । यो परिवेशमा आम नागरिकले देश हित र वर्तमान परिस्थितिलार्ई नजिकबाट नियालेर आगामी यात्रा तय गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
हेमशंकर गिरी
