कुरा ०५६ साल तिरको हो । म काठमाडौं मै थिएँ । एउटा प्रोजेक्टमा काम गर्दै थिएँ । म सन्तुष्ट नै थिएँ । एक्कासि मेरो जिल्ला दाङबाट मलाई जब अफर आयो । मलाई खासै रुची त थिएन, तर पनि सबै जनाको सल्लाह र घर परिवारको सुझाव अनुसार म दाङ फर्केँ ।
घर मै बसेर जागिर खान पाइने त्यो पनि उच्च माध्यमिक तहमा पढाउन पाउने भएपछि स्वभाविक मनमा हर्ष हुने नै भयो । थप कुरा विषय पनि अंग्रेजी, सजिलो राम्रो तथा मर्यादित जागिर भनेर मलाई बुझाइयो । म पनि भर्खर २५ वर्षको ठिटो । धेरै कुरा गरिन, त्यसमा पनि मलाई अफर गर्ने मेरै आफन्त भएकोले हुन्छ भने । २०५६ भदौ महिनाको अन्तिममा ३२ गते नियुक्ति पत्र लिएर मैले हाल लमही न.पा.३ को एउटा विद्यालयमा अध्यापन शुरु गरेँ । विस्तारै सबै स्टाफहरूसँग आत्मियता बढ्दै गयो, रमाइलो लाग्दै गयो ।
म सबै भन्दा सानो शिक्षक भनेर चिनिन्थेँ । तर ठूलो मास्टरको नामले जानिन्थे । समयको प्रवाहसँगै म पनि त्यै परिस्थितिमा रमाउन थालेँ । अविवाहित ठिटो भएकोले सानै तलबमा रमाउन शुरु गरेँ। मलाई खान अनि बस्न पैसा लाग्दैनथ्यो । त्यसकारण तलब अनि ‘ट्युसन फी’ मेरो लागि प्रसस्त हुन्थ्यो । समय बित्दै गयो ।
मेरो जागिर नितान्त अस्थाई रहेको आभाष हुँदै गयो । मा.वि. तहमा धेरै पटक सेवा आयोग खुल्यो । मैले फारम नै भरेन । बरु मैले सिफारिस गरेको व्यक्तिहरूले नाम निकाल्न सफल हुनुभयो । म भने उच्च मा.वि.मा नै महरूको उचित व्यवस्थापन हुनु पर्छ भन्ने विचारमा अडिग भएँ । म लागे यस तर्फ । भाग्यले साथ दियो यस्तै प्रकारको संस्थामा आवद्ध भएँ (उपाध्यक्ष, मध्यपश्चिमाञ्चल हिस्टान) खास गरी यो संस्थाले तत्कालीन उ.मा.वि. तहको शिक्षकहरूको हक–हित तथा पेशागत सुरक्षाको लागि आवाज उठाउँदै आएको रहेछ ।
मलाई एजेन्डा मन प¥यो । म दिलो ज्यानसँग यो संस्थामा लागे । म कुनै पनि एउटा एजेन्डामा मात्र लागि राख्ने मान्छे । एउटा नसकिदै अर्कोमा हात नहाल्ने मान्छे। अथवा भनौं समय अनुसार चल्न नसक्ने मान्छे अझै भन्नु पर्दा एउटा असफल मान्छे । समय बित्दै गयो । म उक्त संस्थाको केन्द्रीय महासचिव, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष र अध्यक्ष मण्डलको सदस्यसम्म पुगेँ । भनौं उकालो चढेँ । मोफसलको भएको हुँदा अध्यक्ष हुन सकिन । अघि नै भनिसकेँ समय अनुसार चल्न सकिन । यो संस्थामा मेरो १८ वर्ष बित्यो ।
लगभग २ दशकको लामो यात्रामा शिक्षा सम्बन्धी राज्यमा अस्तित्वमा रहेका सबै निकाय, मन्त्री, सचिव तथा अन्य व्यक्तिहरूसँग भेटघाट भयो । जटिल विषयमा कुरा भयो । यो हुनुपर्छ, त्योहुनुपर्छ, भयो । शिक्षकसँग सम्बन्धित लगभग सबै संघ–संगठनहरू, त्यसका अध्यक्षहरू सँग भेट भयो । सबैले आ–आफ्ना समस्या बताए । मैले सबैका समस्यालाई साझा बनाएर शिक्षक काउन्सिल बनाउन सुझाए । तर सबैलाई पद, ईज्जत, सम्मान तथा राजनीतिको चाहनाले यो कुरा सम्भव भएन ।
तै पनि एउटा संस्थामा लागि परेर एजेन्डा सफल पार्न असफल प्रयास जारी राखेँ । मेरो विवाह भैसकेको थियो । बाल–बच्चा पनि भए । अब कोठा लिनु प¥यो । खर्च बढ्यो । आर्थिक अभाव त बढ्दै गयो नै, जागिर कसरी स्थाई गराउने भन्ने विषयले पनि पिरोल्न थाल्यो । अब म एक्लो नभएर परिवार भैसकेको थिएँ । तयसकारण भएको जागिर चट्ट छोडेर अरु विकल्प पनि सोच्न सक्दैन थिएँ । घर–परिवारको पनि यस्तै खालको सोच थियो । म बिद्रोह गर्ने स्वभावको थिईन ।
म सँग–सँगै पढेका वा अन्य जागिर वा व्यवसाय गरेका साथीहरू सामाजिक, नैतिक तथा आर्थिक रुपमा धेरै माथि पुगिसकेका थिए । म चाहिँ शिक्षा क्षेत्रमा काम गर्छु भनेर गर्व गर्ने गर्थे । चिया खान विदेशबाट काम गरेर फर्केका सँग जाने गर्थे । छोरा–छोरी हुर्किदै गए, भविष्यको चिन्ता लाग्न थाल्यो । आर्थिक स्थिति मजबुत हुनुपर्छ भन्ने बल्ल बुझेँ । राष्ट्रका निर्माता विशेष गरी शिक्षा तर्फका व्यक्तित्वहरू सँग राष्ट्रकै शिक्षा नीति फेरिनु पर्छ तथा सम्पूर्ण शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्छ भन्ने विषयमा कैयौँ पटक छलफल गरियो ।
सबै तहका तथा सबै पार्टीका व्यक्तित्वहरूले समर्थन जनाउनु भयो । कतिले त कार्यक्रम स्थल बाटै “अब म सोझै शिक्षा मन्त्रीलाई भेट्छु” भनेर पनि जानु भयो । कतिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा शिक्षाको एजेन्डा त्यति महत्वपूर्ण नरहेको जनाउनु भयो, तर पनि हार खाईन मैले । म भाषण गर्दा “चिन्ता नलिनुस साथीहरू, हाम्रो एजेन्डा एक दिन सफल हुन्छ, हुनुपर्छ” भन्थे। मलाई साथीहरूले व्यङग्यात्मक शैलीमा “मीस्टर अप्टिस्टिक” को संज्ञा दिनु भयो । शिक्षा विज्ञहरूसँग पनि छलफल भयो ।
हाम्रो सल्लाह तथा राष्ट्रको नियम कानुन भित्र रहेर प्रस्तावित फाईलहरू तयार भए । शिक्षाको प्रारुप नै परिवर्तन गरेर, शिक्षकलाई पनि सम्बोधन गरेर राष्ट्रको हितमा लागु गर्ने भनेर बनेका फाईलहरू क्रेडिट लिने दिने तथा यो पार्टीका र त्यो पार्टीका नाममा रद्दीको टोकरीमा फालिए । तर पनि सबै विद्वानहरू भाषणमा भन्नुहुन्थ्यो “अब राज्यमा शिक्षाको ठूलो परिवर्तनको आवश्यकता छ” । एक पटक बजेट भाषणमा समेत उ.मा.वि.तहको शिक्षकको व्यवस्थापन गर्ने भनियो र लेखियो।
राज्यमा सबै पार्टीका विशिष्ट शिक्षा विज्ञहरूलाई थाहा छ कि शिक्षामा आमुल परिवर्तन जरुरी छ र हुनु पनि पर्छ । अन्यथा राष्ट्र शिक्षा तथा प्रविधिको पक्षमा साह्रै ढिला हुनेछ । घोषणा पत्रमा पनि पढ्न पाईन्छ । शिक्षामा मन्त्री तथा प्रधानमन्त्री पनि बोल्नुहुन्छ, “जरुरी छ” । यो कागजमा मात्र सिमित छ । मैले नबुझेको कुरो कार्यन्वयनमा ल्याउने कस्ले हो? शिक्षाको आवश्यकता कस्लाई हो? किन हो? आजसम्म अनुत्तरित रहेँ । कैयन पटक सरकार ढले, बने ।
शिक्षालाई कहिल्यै कसैले प्राथमिकता दिएको आभाष पाईएन । मात्र बार्गेनिङ प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समाचार पढ्न पाईयो । भाग–बण्डामा पनि शिक्षामा बार्गेनिङ सुन्न पाईएन । अनि विस्तारै निराश हुँदै गएँ । साथीहरूले सुझाए अनुसार नीति निर्मातासँग पनि कैयन चरण छलफल भयो । व्युरोक्रेसी सँग औपचारिक तथा अनौपचारिक धेरैबहस भयो । सबैले शिक्षा राष्ट्रको महत्वपूर्ण अंग हो भनेर हामीलाई सुझाउनु भयो । मानौं हामी कक्षा ४ का विद्यार्थी हौँ । हामी नपढेर शिक्षक भएका, उहाँहरू आयोग पास गरेर जागिर खाएको आभाष पायौँ । तर पनि हामी गर्छौँ भन्नेहरूको कमी थिएन । एक पटक सहकार्य गर्ने निधो गरियो । म फेरी एक पटक व्यापक रुपमा लागेँ । यो पटक त कसो नहोला ।
म राष्ट्रहितमा काम गरेको छ । मलाई केहि चाहिएको हैन । म जस्ताहरूको व्यवस्थापन होस यति मात्र । म उमेरले ढल्कदैँ गैसकेको मान्छे । निस्वार्थ भावनाले एजेण्डालाई सम्बोधन गराउन अगाडि सरेको व्यक्ति म । तर देशकै लागि भलो गर्दा पनि नियम भित्र रहेर काम गर्दा पनि ‘मलाई के त ?’ भन्ने अन्तर्निहित सिद्धान्तले हाम्रो देश ग्रस्त रहेछ । मैले मलाई भन्ने “म” र “के” भन्ने तत्व आजसम्म बुझ्न सकेन । देश संघीयतामा गयो । खर्च भरी राज्यका विभिन्न सिंह दरबार बनाउन मै सकियो । शिक्षकका तलब, अन्य सुविधा तथा भत्ता बढ्ने कुरै भएन । महँगीले आकाश छुँदै गयो । म शिक्षक भएको बेला मोटर बाईकमा ४२ रुपैँया लिटर पेट्रोल हाल्थेँ ।
त्यतिबेलाको प्रशस्त तलब अहिले हाथ–मुख जोड्न गाह्रो हुँदै गयो । कतिपय शिक्षक साथीहरू त उमेर पुगेर अवकाश पाई सक्नु भयो । २०४६ सालमा बनेको उच्च माध्यमिक शिक्षा परिषदको ऐनमा काम गर्ने शिक्षकहरू धेरै जनाको अवकाश भैसक्यो । राज्य सँग यसको न कुनै रेकर्ड छ, न सम्मान नै गर्न सक्यो । जीवनका उत्कृष्ट पलहरू शिक्षण क्षेत्रमा बिताउनु भएका ती सम्पूर्ण शिक्षकहरू प्रति म आभार व्यक्त गर्न चाहन्छु । एक जना शिक्षक मित्रले (अवकाश प्राप्त) मजाक गर्दै भन्नुभयो, छोरीले चकलेट खान्छु भनिन, जाबो चकलेट त हो भनेर जानु भयो रे । भर्खर स्कुल बाट फर्केकी छोरी बसबाट ओर्लेर सरको हाथ समाउदैँ एउटा ठूलो पसल भित्र छिरिन्।
चकलेट किनिन, सरले चकलेटको मुल्य रु.३५० सुनेपछि झन्डै सातो गयो रे । रु. १ को २० वटा चकलेट खाएका हामी भन्दै एकछिन हास्यौँ । मैले यो मजाक भित्र शुरुमा यथार्थता देखेँ । हो साच्ची घरमा प्रयोग हुने वस्तु–भाउको गुणस्तर पनि घट्दै गएको थियो । चामल सस्तो किन्न थालियो, कोठा मोफसलमा खोज्न थालियो, तरकारी किलोबाट पाउमा झ¥यो, शनिवार बाईक नचलाउने कुरा भयो, साहुजी सस्तो खालको तेल दिनुन भन्नु प¥यो, भाँडा माझ्ने साबुन किन्न छोडियो, अझै भनौँ एउटा तरकारीसँग भात खान शुरु भयो ।
अब म सोच्दैछु, राज्यले उपहास गरेको शिक्षक अनि महत्व नदिएको शिक्षाको पछि म अझै पनि लागिरहेँ भने मेरो भविष्य के ? म आँखा चिम्लेर हेरेँ । बिहान हिँजो साँझको रोटी र कालो चिया खाएर छोरा–छोरी स्कुल गए, खाना खाँदा दाल र भात मात्रै, तरकारी लिन जान न भ्याको रे । नभ्याउनुको कारण पनि बुझेँ । म बाईक टिपेर कलेज गएँ, पढाए अनि ठूलो कुरा गरेँ । घर फर्के, नास्ता सोधँे, चिउरा रहेछ, चित्त बुझाएँ । छोरा–छोरी भोक मान्दै घर आए, उनीहरूले पनि त्यै चिउरा नै खाए ।
अण्डा पनि क्यारेटबाट प्लास्टिकमा आउँदोरहेछ । स्कुल ड्रेस मैलेको रहेछ । अर्को पुरानो भएछ । मैलेकै ड्रेस प्रयोग भयो । म झस्केँ । म दृढ भएर सोचेँ यो प्रकृया कहाँ गएर अन्त हुने हो ? म सँग उत्तर नै थिएन । म शिक्षा, शिक्षक, देश, राष्ट्र केहि सोचिन । मैले शिक्षकबाट राजिनामा दिएँ । मैले जो गुडविन पार्करलाई सम्झेँ । उज्ज्वल भविष्यको आशा गर्दै, ‘आई क्विट माई जब’ ।
बिक्रम पोख्रेल
