काठमाडौं, १२ मंसिर । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट नेपाल भित्रन सक्ने भन्दै तत्काल उच्च सर्तकता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । केही दिन अघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भारतहुँदै नेपाल आउन सक्ने भन्दै विज्ञहरूले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका छन् ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकमा विज्ञ चिकित्सकहरूले तत्काल स्वास्थ्य सुरक्षाको उपायहरू अपनाउन सुझाव दिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।
कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बैठकले निर्देशन समितिमा नयाँ भाइरसका विषयमा छलफल गरी थप रणनीति बनाउने प्रवक्ता नेपालले बताउनुभयो । तेस्रो आखाँसँग कुरा गर्दै प्रवक्ता नेपालले भन्नुभयो- सायद नयाँ भाइरसका विषयमा छिटै निर्देशन समितिले निर्णय गर्ने छ ।
चिकित्सकहरूले सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिकालगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउन सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरूका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्नेगरी छलफल अघि बढाएको छ ।
बैठकमा कोभिड-१९ खोप लगाई तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने, विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्नु पर्ने जस्ता विषयमा छलफल भयो । यस विषयमा निर्देशन समितिले निर्णय गर्ने छ ।
पछिल्लो समय युरोपका बेलायत, जर्मनी र इटलीसहितका केही मुलुकमा पनि ओमिक्रोनका संक्रमित फेलापरेका छन् । बेलायतका २ जनामा नयाँ भेरियन्ट फेला परेपछि माक्स अनिवार्य गरिएको छ ।
