काठमाडाैं, २ बैशाख । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण नेपालमा ११ हजार ९५१ जनाले ज्यान गुमाए । ११ लाख १८ हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसरी संक्रमण हुने र ज्यान गुमाउनेहरुमा पत्रकारहरु पनि परेका छन् ।
हाल सम्म २६ जना पत्रकारले कोरोनाकै कारण ज्यान गुमाएको नेपाल पत्रकार महासंले जनाएको छ । महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए । ‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् ।
त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् । विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि विश्वभर फैलिएको कोराना कहर अहिले विस्तारै कम हुदै गएको छ ।
