काठमाडौं, ४ वैशाख । ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार दोस्रो ६६ लाख र शनिबार तेस्रो दिन ८९ लाख ग्रस कमाइ गर्यो । चौथो दिन आइतबार ३ करोडको भन्दा बढी कामउने अनुमान गरिएको छ ।
अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहेको फिल्मले अहिले पनि राम्रो कमाइ गरिरहेको छ। देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले शनिबार हाउसफुलको व्यापार गरेको थियो। मोफसलमा दर्शकको मागको बढ्न थालेको छ । माग बढेपछि आजदेखि सो थपिने तयारी गरिएको छ । ३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ। सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व। निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन्। फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्।
