काठमाडौं, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताएकी छिन् ।
शुक्रबार नेपाल फर्मा एक्स्पो–२०२२ को उद्घाटन गर्दै भणडारीले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय भएको बताएकी हुन् । औषधिजन्य उत्पादनले बहुआयामिक प्रभाव पारेको भन्दै उन्ले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान पु¥याउनुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, “सार्वजनिक स्वास्थ्यलाई बलियो बनाउँदै नागरिकको जीवनस्तर माथि उठाउन यस उद्योगले प्रत्यक्ष भूमिका खेल्न सक्दछ ।” उनले सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको बताइन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन र वितरण प्रणालीलाई ठूलो चुनौती दिएको उल्लेख गर्दै उनले विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको वर्तमान परिस्थितिमा महामारी रोगको नियन्त्रण एवं उपचारमा एउटा देशको प्रयास मात्रै पर्याप्त नहुने बताइन् ।
भण्डारीले भनिन्, “रोगको उपचार र नियन्त्रणका लागि विभिन्न मुलुकबीच आपसी सहयोग र सहकार्यको आवश्यकता भएजस्तै औषधि उत्पादनको क्षेत्रमा पनि विभिन्न राष्ट्रबीच पारस्परिक सहयोग अभिवृद्धि हुनुपर्दछ ।” समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान र भौतिक पूर्वाधार विकासको प्रयासमा जुट्नुपर्ने बताउँदै उनले औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गरिन् ।
भण्डारीले औषधि तथा स्वास्थ्य सामग्रीको समतामूलक वितरणका लागि स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने खाँचो रहेको आफूले महसुस गरेको बताउँदै भनिन् , “जीवनशैलीमा आएको परिवर्तन शुद्ध र स्वस्थ खानाको अभाव तथा बढ्दो प्रदूषणका कारण नसर्ने रोगहरुले ठूलो जनसङ्ख्यालाई प्रभावित गर्दै लगेकाले पनि औषधि विज्ञानका क्षेत्रमा लगानी आवश्यक देखिएको छ ।”
यस प्रकारका प्रदर्शनीले त्यसतर्फ अगाडि बढ्न राज्य, निजी क्षेत्र र समुदायलाई प्रेरणा प्रदान गर्ने आफूले विश्वास लिएको उनले बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय अर्थतन्त्रसँग औषधि उत्पादनको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सामग्री र औषधिको आवश्यकता अत्यधिक हुँदै जाँदा आयात वृद्धि भई मुलुकको व्यापार घाटामा थप चाप परिरहेको दाबी गरिन्। उनले भने, “औषधि उत्पादनमा लागत घटाउन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान स्वदेशमा भएका जडीबुटीको व्यावसायिक खेती गरी कतिपय औषधिका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरेर आयात प्रतिस्थापन गर्न सकिन्छ ।”
निजी क्षेत्रको ठूलो लगानीसहितको औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सङ्कल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान पु¥याउनुपर्नेमा उनले जोड दिइन् । औषधि उत्पादनका क्षेत्रमा विश्वभरि निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको भन्दै उनले विज्ञान र प्रविधिको गतिसँगै आफूलाई अध्यावधिक राख्न सकेमा मात्रै हाम्रो उद्योगहरुको प्रतिस्पर्धी क्षमता सृदृढ हुने बताइन् । तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १६० स्टल रहेका छन् ।
