मेरी आमाले फेसबुक चलाउँ दिनन्
हसियाँ चलाउछिन्,
डोको बोकेर जंगल धाउँछिन्,
स्याउला बुटुलेर डोकोमा हाल्छिन्,
भाँडा मस्काउँदा अनुहारमा लागेको
मसोलाई गाजल सम्झिन्छिन्, लाली सम्झिन्छिन्
गोबर सोहोर्दा आएको गन्धलाई प्रफिम ठान्छिन्
ढिँडो र सिस्नुमा रमाउछिन्
धुलो उड्ने माटोको ओटालोमा
फरियाको एकताल ओछ्याउँदा पनि
आमालाई सन्तुष्टिको निद आउँछ
फेसबुकमा बनाउँने साथीहरु
अनफ्रेण्ड गर्छन, ब्लक गर्छन
कतिले कमेन्ट, लाइक र सेयर गर्छन
फेसबुकबाट नै समवेदना, श्रदाञ्जली र शुभकामना दिन्छन्
अफ्ठेरोमा कसैले काँध थाप्दैनन्
धाप मार्दैनन्
फोटो शेयर गर्छन,
दुःख शेयर गर्दैनन्
त्यसैले त मेरी आमाले फेसबुक चलाउँदिनन्
आमाका थोरै साथी छन्
दुःखमा काँध थाप्छन्
सुखमा धाप मार्छन्
फोटो शेयर नगरे पनि दुःख शेयर गर्छन्
शुभकामना, श्रदाञ्जली र समवेदनाताका
घर भरी आउँछन् रातभरी बस्छन्
सबैलाई दुःख परेका कहानी सुनाउँछन्
आमाको मन भुलाउँछन्
ती कसैले पनि फेसबुक चलाउँदैनन्
मैले फेसबुकमा फोटो राखेर
आमाको अनुहार सबैको सामु ल्याउन चाहेन
अनुहारमा परेको चाउरीपनमा
लाइक र कमेन्ट कसरी गराउँ
श्रद्धा मनमा छ, मुटुमा छ,
आमाको जस्तै साथी हुन मन छ
मलाई फेसबुकको जस्तो छोरा हुन मन छैन
