काठमाडौं, १० जेठ । नाइजेरियाबाट फर्केका २ जना बेलायती नागरिकमा देखा परेको मङ्कीपक्स रोग नेपालमा पनि आउन सक्ने खतरा औल्याइएको छ । केही दिन यता मात्रै सार्वजनिक भएको यो रोग हाल विश्वका १४ भन्दा बढी देशमा फैलिसकेको छ । कोरोना महामारी नसकिदै फैलिएको यो रोग विश्वका धेरै देशहरुमा फैलिएकोले चिन्ताको विषय बनेको छ ।
दक्षिण एसियामा हाल सम्म नेदेखिएको भएपनि मङ्कीपक्स रोग नेपालमा आउन सक्ने सम्भावना भएकोले सर्तकर्ता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मे ७ मा नाइजेरियाबाट आएका दुई जनालाई बेलायतमा पहिलो पटक देखिएको मङ्कीपक्स रोग हाल अमेरिका, क्यानडा जस्ता युरोपेली देशमा तिब्र गतिमा फैलिरहेको छ । यस्तै स्पेन, पोर्चुगल, बेलायत, फ्रान्स, इटली लगायतको देशमा पनि यसको संक्रमण देखिएको छ । मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसको वर्गमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्लुएचओका अनुसार यो रोग सबैभन्दा पहिले सन् १९७० मा कंगोमा नौ वर्षका बालकमा फेला परेको थियो । सुरुमा यो रोग बाँदरमा देखिएको हुनाले यसलाई मङ्कीपक्स भनिएको हो । सन् १९७० मा यो रोग अफ्रिकाको ११ मुलुकमा फैलिएको थियो । त्यसपछि सन् २०१७ मा पुनः फेला परेको उक्त रोगबाट दुई सय मानिस संक्रमित भएका थिए भने मृत्यु दर तीन प्रतिशत थियो ।
२००३ मा पहिलो पटक अफ्रिकाभन्दा बहिरको मुलुक अमेरिकामा यो रोग देखिएको थियो । त्यसपछि सन् २०१८ को सेप्टेम्बरमा बेलायत, सन् २०१९ को मे र २०२१ को मे र डिसेम्बरमा सिंगापुर तथा अेमेरिकामा मङ्कीपक्स संक्रमण फेला परेको थियो । विश्वका १४ भन्दा बढी मुलुकहरुमा मे महिनामा नै यसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मङ्कीपक्स रोग संक्रमण भएपछि देखापर्ने लक्षणहरु :
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो रोगको लक्षण दुई चरणमा विभाजन गरेर हेर्न सकिने छ । तर दुई चरणको लक्षण झुक्कीने किसिमको रहेको उनले बताए । पहिलो चरणमा देखिने लक्षणहरु धेरै अन्य सरुवा रोगहरुसँग मिल्दोजुल्दो हुन्छ। पहिलो चरणमा ज्वरो आउने, टाउको दुख्ने, ग्रन्थीहरु सुन्नीने हुन्छ । त्यसपछि दोस्रो चरणमा शरीरमा बिमिरा आउने फोका आउने लक्षण देखा पर्ने डा पुन बताउँछन ।
हात खुट्टामा बढी मात्रामा पानी भरिएको फोकाहरु आउने, फुट्ने हुन्छ । तर यो रोग संक्रमण भएपछि सामान्यतया धेरै व्यक्तिहरुमा लक्षणहरु देखा नपरी निष्क्रिय भएर जाने वा सामान्य लक्षण देखा परेर जाने गरेको डा. पुनको भनाइ छ । यो भाइरस हाम्रो शरिरमा प्रवेश गरेको दुई देखि तीन हप्ता सम्म लक्षण देखिन सक्छ । त्यस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने अवधि दुई देखि तीन हप्ताको रहेको हुन्छ ।
यो रोगको संक्रमण कसरी हुन्छ ?
संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा यो रोग सर्ने गर्दछ । संक्रमित व्यक्तिको शरीरमा आएका फोकाको पानीबाट, तथा श्वासनली, आँखा, नाक वा मुखबाट यो भाइरस प्रवेश गर्न सक्छ । यो यौन रोग नभएपनि यौन सम्पर्क गर्दा पनि सर्न सक्ने सम्भावना रहेको बताइएको छ । त्यस्तै संक्रमित जनावरसँगको असुरक्षित सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।
यो रोगबाट त्रसित हुनुपर्ने अवस्था हो ?
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो रोग पश्चिम र मध्य अफ्रिकी क्षेत्रमा बेलाबखतमा महामारीको रुपमा फैलिने गरेको बताउछन् । यो रोग जनावरबाट सर्ने भएपनि मानिसमा सरेपछि एक मानिसबाट अर्को मानिसमा सर्ने उनको भनाइ छ । पुन भन्छन,‘नेपालमा यो रोग पटक्कै आउन सक्दैन भन्ने अवस्था छैन्, तर आइहाले पनि डराइहाल्नु पर्ने भन्ने अवस्था छैन् ।’ यो रोग उपचार भैसकेपछि पनि यसको खत रहिरहने गरेको पाइएको छ । तर कोरोना भाइरसबाट जोगिन अपनाइने उपायहरु यस भाइरसमा अपनाउन सकिने र यो प्रभावकारी हुने उनकाे भनाइ छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार यो रोग संक्रमण भएका व्यक्तिको अनुपातमा दश प्रतिशतको मृत्यु हुने गरेको छ । विशेषगरी यो रोग बालबालिकामा देखिने गरेको छ । यदि लक्षण देखिएमा वा संक्रमण भएको संका लागेमा तत्काल नजिकको स्वास्थ्य केन्द्रमा जान उनले आग्रह गरे । स्वास्थ्य मन्त्रालयले यो रोग नेपालमा पनि आउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जनचेतना फैलाउने काम गरिरहेको उनले बताए ।
मन्त्रालयले विशेषगरी यो रोग संक्रमण पुष्टि भएको देशहरुबाट आएका व्यक्तिलाई दुई हप्ताको लागि अलग्गै बस्न आग्रह गरेको छ । मङ्कीपक्स रोग विरुद्धको खोपको विकास भैसकेको तर नेपालमा हाल उपलब्ध नभएको मन्त्रालयको भनाइ छ । मङ्कीपक्स रोग विरुद्धको खोप लगाउनु उपयुक्त हुने सहप्रवक्ता अधिकारीका बताए । रोग प्रतिरोधात्मक क्षमता कम भएका र दिर्घ रोगीहरुलाई यसले बढी असर गर्ने बताइएको छ । नेपालमा मङ्कीपक्स रोग आइनसकेकाले आत्तिहाल्नुपर्ने अवस्था नभएपनि सतर्कता अपनाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

पदम भुजेल
