थला परेको रुम्जाटार अस्पताल, चिकित्सक र उपकरणको अभाव

थला परेको रुम्जाटार अस्पताल, चिकित्सक र उपकरणको अभाव


  • 7.2K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    थला परेको रुम्जाटार अस्पताल, चिकित्सक र उपकरणको अभाव
    न्युज कारखाना

    ओखलढुंगा, १५ मंसिर । जिल्ला अस्पताल रुम्जाटारमा गम्भीर प्रकृतिका बिरामीलाई उपचार सेवा लिन निकै सास्ती हुने गरेको छ । अस्पतालमा उपचार सम्भव नभएपछि सदरमुकामस्थित सामुदायिक अस्पताल वा राजधानी रेफर गरिन्छ । सामान्य शल्यक्रियासमेत अस्पतालमा हुँदैन ।

    images

    सरकारी अस्पतालमा उपचार नहुने भएपछि बिरामी प्रारम्भिक उपचार गर्नसमेत रुम्जाटार अस्पताल पुग्दैनन् । रुम्जाटार अस्पतालले सामान्य औषधी तथा चेकजाँच र शव पोस्टमार्टमलगायतका सेवा मात्रै दिँदै आएको छ । 

    सरकारी निकायको बेवास्ताले नागरिकलाई नि:शुल्क उपचार सेवा दिन स्थापना गरिएको अस्पतालका अधिकांश बेड खाली हुन्छन् । समाचार संकलनका क्रममा अस्पताल पुग्दा १५ मध्ये १४ बेड खाली थिए । यसबारेमा जिज्ञासा राख्दा एक स्वास्थ्यकर्मीले भने, 'बेडमा भर्ना हुन त कमै आउने गर्छन् । यहाँ दक्ष जनशक्ति र उपकरण नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्ने गरेका छौं ।'

    खरिद गरिएका उपकरण अलपत्र 

    १५ सैय्याको अस्पतालमा दक्ष जनशक्ति र उपकरण व्यवस्थापन नहुँदा नागरिकले उपचार सेवा पाएका छैनन् । अस्पतालमा रहेका करोडौं मूल्य बराबरका उपकरण प्रयोगविहीन बनेका छन् । गत आर्थिक वर्षमा कोभिड संक्रमणको उच्च जोखिमको बेला खरिद गरिएका उपकरणहरू तीन महिना बित्दा पनि जडान भएका छैनन् ।

    दुईवटा भेन्टिलेटर, पाँचवटा आईसियु बेड, एउटा पिसिआर मेसिन खरिद गरेर ल्याएपछि खोलिएको समेत छैन । अक्सिजन प्लान्ट कात्तिकभित्र जडान गरी अक्सिजन उत्पादन गर्ने भनेर ठेक्का लगाइएको थियो । हालसम्म जडान भएको छैन । यी सबै उपकरण करिब १ करोड ७२ लाख बराबरको हो ।

    जिल्ला अस्पतालमा सामान्य शल्यक्रिया कक्षसमेत छैन । कोभिडको संकट दुई चरणमा फैलिएको बेला पीसीआर गर्नका लागि काठमाडौं, धुलिखेल, धरान, विराटनगरसम्म स्वाब संकलन गरेर पठाइएको थियो । सोही समस्या समाधान गर्ने उद्देश्यले जिल्ला अस्पतालमै पिसिआर मेसिन खरिद गरे पनि त्यसका लागि जनशक्ति र व्यवस्थापनको अभाव देखिएको छ । 

    उपकरण प्रयोगमा नआउनुको कारणबारे जिल्ला अस्पतालकी सूचना अधिकारी उमा गुरुङले भन्नुभयो,  ‘पीसीआर मेसिन राख्ने कक्ष बनाउनै ५० लाखभन्दा बढी बजेट चाहिने रहेछ ।’ 

    जनशक्ति अभाव 

    आईसियु बेड र भेन्टिलेटरसमेत जडान गरेर सञ्चालन गर्ने जनशक्ति अस्पतालमा छैन । अस्पतालमा एमडीजीपी तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी भए पनि एमबीबीएसमात्र छन् । एक जना स्थायी एमबीबीएस र डेन्टलसहित गरेर अस्थायी चार जना एमबीबीएस चिकित्सक छन् । भएकै चिकित्सकले पनि उपकरण प्रयोगमा नहुँदा आफ्नो दक्षता अनुसारको सेवा दिन सकेका छैनन् ।

    शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने अवस्थामा हामीले रेफर गर्नुपर्ने अवस्था रहेकाले निकै जोखिम रहेको  जिल्ला अस्पतालका प्रमुख डा. अनिल आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग अप्रेशन थिएटर छैन । त्यसका लागि आवश्यक व्यवस्थापन पनि छैन ।'

    सामान्य उपचार गराउनेभन्दा अरू क्षमता अस्पतालमा नभएकाले प्रदेश सरकारले थप जनशक्तिका लागि विशेषज्ञ चिकित्सकको दरबन्दी पठाएर सञ्चालन गर्न सके जिल्ला अस्पतालको सेवा गुणस्तरीय र प्रभावकारी हुने आचार्यले बताउनुभयो ।

    हाल जिल्ला अस्पतालले पोषण पुनर्स्थापना, मानसिक स्वास्थ्य परामर्श, डेन्टल, पोस्टमार्टमलगायतका सेवा उपलब्ध गराउँदै आएको छ । १५ सैय्याको अस्पतालको भौतिक संरचना करोडौं लागतमा विशाल आकारमा निर्माण भइरहेको छ । तर, संरचना अनुसारको सेवा नदिँदा सर्वसाधारण जिल्ला अस्पतालमा भर पर्न सकेका छैनन् ।

    गाउँमै जिल्ला अस्पताल छ भनेर ढुक्क हुने अवस्था नभएको रुम्जाटारका प्रेम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही रोग बिमार भइहालेमा मिसन अस्पताल पुगिहाल्नुपर्छ र उस्तै इमर्जेन्सी भएमा सक्नेले हेलिकप्टरमा काठमाडौं लग्छन् ।’

    दर्जनौंको संख्यामा स्वास्थ्यकर्मी र कर्मचारी भए पनि जिल्ला अस्पतालले आफ्नो स्तर अनुसारको सेवा नदिएको जिल्लावासीको गुनासो छ ।

    सदरमुकाममै ओखलढुंगा सामुदायिक अस्पताल मिसन अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । तर, नि:शुल्क सेवा दिने जिल्ला अस्पतालमा मुस्किलले दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अभिलेख छ ।   

    उपकरण खरिद भयो बजेट आएन 

    प्रदेश सरकारले जिल्ला अस्पताललाई उपकरणहरू खरिद गर्न निर्देशन दियो । संघीय सरकारबाट बजेट सुनिश्चित भएकाले उपकरण खरिद गर्न निर्देशन दिएपछि जिल्ला अस्पतालले ठेक्का प्रक्रियाबाट उपकरण खरिद गर्‍यो ।

    ‘पीसीआर, भेन्टिलेटर, आईसीयू बेड ठेक्का लागेर ल्याएको महिनौं भयो,’ अस्पतालका सूचना अधिकारी उमा गुरुङले भन्नुभयो, ‘ठेकेदारले पैसा मागेर हैरान पारिसके तर यता संघीय सरकारबाट बजेट प्राप्त भएको छैन ।’


    तेस्रो आँखा