काठमाडौं, १८ जेठ । गैर आवसिय नेपाली संघ (मलेसिया) का अध्यक्ष विनोद कुँवरले नेपालमा विदेशी लगानी भित्र्याउन कागजी प्रक्रियलाई सुधार गर्र्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार संवाद डबलिमा आयोजित ‘नेपालको अर्थतन्त्र र बजेट’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । ‘नेपालमा विदेशी लगानी भित्र्याउनको लागि नेपालको प्रक्रियागत प्रणाली सुधार गर्नुपर्ने देखिन्छ’ उनले भने ‘मेरै सहायतमा नेपालमा मझौला उद्योगलाई खोल्न भनेर आएका धेरै मान्छेहरु कागजी झन्झटताका कारण फर्किए ।’
उनले अहिले पनि नेपालमा उद्योग खोल्छु भनेर आएका धेरै मान्छेको कागज मन्त्रालयमा थन्किएर बसेको बताए । विदेशबाट सिप सिकेर फर्किएका युवाहरुले केहि गर्छु भनेर लाग्दा पनि यहाँ प्रशासनिक झन्झटका कारण दिक्क भएर गर्न नसक्ने अवस्था भएको उनको भनाइ छ । यस अवस्थाको सुधार गर्नु अत्यावश्यक भएकोले यसलाई सुधार गर्न उनले सरकारसँग माग गरे ।
