काठमाडौं, १८ जेठ । पूर्व गभर्नर तथा अर्थविद् दिपेन्द्र बहादुर क्षेत्रीले नेपालमा बढ्दै गएको व्यापार घाटा प्रति चिन्ता व्यक्त गरेका छन् ।
बुधबार संवाद डबलिमा आयोजित ‘नेपालको अर्थतन्त्र तथा बजेट’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । ‘व्यापार घाटा यसरी बढेर गएको छ कि नेपालको वार्षिक बजेट भन्दा तिब्र रुपमा वृद्धि भएको छ’, उनले भने ‘नेपालको अर्थतन्त्रका लागि यो चिन्ताको विषय हो ।’ उनले यसलाई सुधार गर्न समयमै सबै सचेत हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा केहि सुधारोन्मुख कुराहरु देखिएको पनि उनले दाबी गरे । कर्मचारी दुई वर्ष सम्म नचलाउने, विकास खर्चलाई तिब्र गतिमा बढाउने सरकारको प्रतिबद्धता राम्रो भएको उनको भनाइ छ । तर यो प्रतिबद्धता कार्यान्वयमा नेपाल सरकारले जोड दिन आवश्यक रहेको उनले बताए ।
नेपालका सबै सरकार र अर्थमन्त्रीले प्रस्तुत गरेका बजेटमा धेरै सकरात्मक कुराहरु भएपनि त्यसको कार्यान्वयमा सबै सरकारहरु चुक्दै आएको उनको भनाइ छ । उनले यो सरकार पनि बजेटको कार्यान्वयनमा सफल हुने कुरामा शंका व्यक्त गरे ।
