काठमाडौं, १९ जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरले आफूमाथि भएको ‘दुर्व्यवहार’बारे भनाइ सार्वजनिक गरेकी छन् । यही जेठ १५ गते सिभिल मलमा एक दर्शकले आफूमाथि गरेको दुर्व्यवहार (ब्याड टच) र जेठ १७ गते भएको सम्झौताका विषयमा आफ्नो भनाइ राखेकी हुन् । बिहीबार सामाजिक सञ्जालमामार्फत उनले तीन बुँदामा आफ्नो भनाइ सार्वजनिक गरेकी छन् ।
जेठ १५ गते फुर्पा तामाङले आफूलाई अनुचित ढंगले छोएको, १७ गते तामाङलाई निःस्वार्थ माफी दिएको उनले उल्लेख गरेकी छन्।शुभचिन्तकहरूप्रति कृतज्ञता व्यक्त गर्दैै उनले लेखेकी छन्, “यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन र हिम्मत अनि मायाको लागि म मेरा सम्पूर्ण सहयोगी मन, प्रशंसकहरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा हृदयदेखि कृतज्ञता प्रकट गर्दछु ।”
तेस्रो तथा अन्तिम बुँदामा उनले गुम्सिएर बसेका यस्ता थुप्रै घटनाहरू हिम्मत गरेर बाहिर ल्याएका सबै महिलाको प्रशंसा गरेकी छन् । “चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला । कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन,” नायिका मिरुनाले लेखेकी छन् ।

