नेपाली समाजमा हरेक दिन हत्या, हिंसा र बलात्कारका घटनाहरु बढ्दो क्रममा घटिरहेका छन् ।
यस्ता घटनाहरु आखिर किन घटिरहेका छन् भन्ने बारे समिक्षा गर्न जरुरी छ। यी अपराधीक घटनाहरू पीडितलाई दोषी देख्ने प्रवृत्तिले गर्दा मेरो मनमा असाध्यै डर लाग्न थालेको छ, कतै भोलि मिडियाहरूमा मेरो बारेमा यस्तै समाचार आउने त होइन? कतै अर्को हिंसाको सिकार म त हुने होइन?
हरेक दिन यस्तो डर मनमा पालेर हिँड्ने पक्कै म मात्र होइन । नेपालका हरेक उमेर समुहका महिलाहरु हरेक दिन घरबाट बाहिर निस्कदा सकुशल घर फर्किन्छु कि फर्किदैन भन्ने कुरा मनमा लिएर हिड्नुपर्ने अवस्था छ। घर बाहिरको असुरक्षालाई नजर अन्दाज गर्न सकिदैंन र आफ्नै घरमा पनि असुरक्षित हुनुपर्ने अवस्था छ । आखिर कसलाई र के आधारमा विश्वास गर्ने?
समाचारहरूमा हरेक दिन आफ्नै बुबाले छोरीको, दाजु भाइले दिदी बहिनीको, हुँदा हुँदा आफ्नो छोराले आमाको बलात्कार गरेको खबरहरु सुनिरहँदा, हामी सुरक्षित चै कहाँ छौं भन्ने गम्भीर प्रश्न विशेषतः हरेक नेपाली नारीहरुको मनमा खडा भएको छ। महिलाहरुले हिंसा पाइलैपिच्छे देख्न र भोग्नुपरेको छ। सार्वजनिक स्थानहरू देखि सार्वजनिक यातायातसम्म, ज्ञानको दियो बाल्ने विद्यालयहरू, गरिखाने कार्यालयहरु देखि मठ, मन्दिरहरु धेरै ठाउँमा सुरक्षित वातावरण छैन। नारीहरू यस्ता ठाउँमा अभिव्यक्त गर्न पनि नसकिने कुदृष्टिहरूको सिकार हुनुपरेको छ। कुनै ठाउँमा पनि महिलाहरूले स्वतन्त्रताको अनुभुती गर्न सक्ने अवस्था छैन।
यहाँ के र कसको गल्तिको सजाय भोगिरहेका छन् महिलाहरु? हरेक दिन समाचारहरू बढ्दो संख्यामा आइरहेको छन् । मानौं कसैलाई यस्तो घटनाहरू घटाउनु नै पौरखको कुरा हो । ६ महिनाको बालिका देखि ६० बर्षको वृद्ध महिलाहरू बलात्कृत हुनुमा बलात्कारीको कुन मानसिकताले भुमिका खेलेको छ त्यस बारेमा समाजको सम्रचना र यसभित्रको कुप्रवृत्तिको जड बारे समिक्षा गर्नुपर्ने समय आएको छ। विद्यालय जहाँ ज्ञान आर्जन गर्न जान्छन्, जसले आफ्ना आमा बुबा भन्दा बढि शिक्षकहरुलाई विश्वास गर्छन्, त्यस्ता नानीहरु हरेक दिन आफ्नो शिक्षकहरुबाट पीडित भएको सुनिन्छ। विद्यालय जाने बालबालिकाहरूमा आफु माथि के हुन गईरहेको छ भन्ने ज्ञान समेत हुँदैन।
आफ्नै कुरा गर्नुपर्दा, म सानो छँदा मलाई यस बारेमा थाहा थिएन, सिकाउने पनि कोही थिएन म सँग गलत कुरा भैरहेको छ भनेर। अहिले मलाई महसुस हुन्छ कि म पनि धेरै पटक पीडित भैसकेको रहेछु आफ्ना शिक्षकहरुले मेरो शरीर छुन खोजेकाे क्षणहरू म अहिले सम्झन्छु र रिस उठ्छ, आजका साना बालीकाहरू हिंसामा परेर बोल्न नसक्ने धेरै छन् । अझ न्यायको लागि जसले आवाज उठाउन खोज्छ उसका लागि त झन ठुलो चुनौती खडा हुन्छ। यति धेरै प्रश्नहरु उठछन् कि मानौँ पीडित महिलानै अपराधी हो। आवाज उठाउन निकै साहस चाहिन्छ। "तिमी नै गलत नभएर त कसरी यस्तो हुन्छ र?" "किन यतिबेलासम्म नबोलेर अहिले बोलेको त?" "किन स्वीकार्न सकिदैँन?" यि र यस्ता प्रश्नहरू पीडितलाई नै दोष दिने प्रवृत्तिका उपज हुन्। यहाँ केही अपवाद बाहेक धेरै "महिलाहरू" नै पीडित हुन्छन्।
पीडित स्वयंलाइ कलंक लगाइदिन्छन् भन्ने थाहा हुँदा हुँदै आवाज उठाउन सक्छु भन्ने पीडित महिला वा महिला शशक्तिकरणका अभियान्ताहरू लाई पनि सार्वजनिक रुपमा आफुले भोग्नुपरेको यौन हिंसा बारे अभिव्यक्ति गर्न मुस्किल हुने अवस्था छ। महिलाहरु यस्तो समाजको पात्र बनेर बन्नु परेकाे छ जहाँ बलात्कार र हत्या गर्ने लाई मानव अधिकारवादी नै सुरक्षा कवच बन्छन् र पीडितहरु दिनदिनै तिरस्कृत भएर बाँच्नु परेकाे हुन्छ ।
आम मानिसहरुको कुरा छोडेर देश हाक्ने राजनैतिक व्यक्तिहरूलाई हेर्दा झन् भयावह स्थिती छ भनेर अनुमान लगाउन सकिन्छ। संसद भवन भित्रै पनि नहोलान् भन्न सकिँदैन। बेला बेलामा उच्च पदमा बसेकाहरूकाे विभिन्न उदाहरणहरू हामीले सुन्नु पर्छ। देशको माथिल्लो ओहोदामा बसेका महिलाहरू पनि तिरस्कृत हुने डरले चुप लागेर बसेका हुन सक्छन्।
“न्याय दे, “मेरो गल्ती के थियो ?” भनेर प्रश्न गर्ने महिलाहरूकाे सचेत गुहार र अनुरोधलाई याे समाज र व्यवस्थाले कमजाेर ठानिरहने हो भने महिलाहरुबाट नयाँ क्रान्तिको जन्म हुन सक्छ। राजनैतिक शक्ति,सम्पतिकाे शक्ति, सामाजिक शक्ति र सांस्कृतिक विभेदको कारण अझै कहिलेसम्म महिलाहरु हिंसा र बलत्कारको सिकार भैरहनुपर्ने हाे? यो अन्यायलाई कहिले सम्म सहिरहनुपर्ने हाे?
महिला को पहिरन, हिँडाइ, उनिहरुले गर्नुपर्ने व्यवहारको धार्मिक र सांस्कृतिक जडता आदिको पक्षधर हुनुभन्दा प्रेम र सद्भावले, शिक्षा र चेतना बिस्तारले, कानुन र व्यवहारले परिवर्तन हुनुपर्ने आवश्यकतालाई सबै बुद्धिजीवी, अभियान्ता र राजनीतिकर्मीले मनन् गर्नुपर्छ।
Twitter:- @kamana_0
कामना पाैडेल
